नयाँ कोरोना भाईरस नेपाल भित्रिएको आशंका, ३ जनामा देखियो एसजिन नेगेटिभ
बेलायतबाट फर्केका सात मध्ये तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।
कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ हुन सक्ने सम्भावना बढेको हो । यसको यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पु¥याइसक्ने योजना बनाएको छ ।
बी–११७ को पीसीआर परीक्षण गर्दा विभिन्न जिनहरूमध्ये एसजिन देखिँदैन । इम्पेरिअल कलेज लन्डनमा संक्रामक रोग प्रमुख उइन्डी बार्क्लेका अनुसार कोराना संक्रमण रहे नरहेको पत्ता लगाउन पीसीआर परीक्षण गरेर कम्तीमा तीनवटा जिन हेर्दा एसजिन नदेखिएपछि त्यसको कारण पत्ता लगाउने क्रममा बी–११७ भेरिएन्ट पत्ता लागेको हो ।
बी–११७ सार्क मुलुक भारत, पाकिस्तानलगायतमा समेत देखिएपछि सरकारले बेलायतबाट आउनको निगरानी थालेको हो । यस क्रममा सात जनाको पीसीआर पोजिटिभ देखिएको थियो । तीमध्ये एसजिन नेगेटिभ देखिएकाको बी–११७ भए नभएको यकिन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १४ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई अनुरोध गरेको थियो ।
बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन। यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन ।
अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ । यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।