News राजनीति

संसदीय प्रणालीप्रति वावुरामको टिप्पणी– ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो होईन लोकतन्त्र !

संसदीय प्रणालीप्रति वावुरामको टिप्पणी– ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो होईन लोकतन्त्र !

प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध नेकपा (बहुमत) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आमन्त्रित दुईजना डाक्टरबीच घोचपेच भएको छ । संयुक्त आन्दोलनको आवाज उठिरहेकै बेला नेताहरुबीच विभिन्न विषयमा घोचपेच र छेडखाड चलेको हो ।

नेकपा (बहुमत) को केन्द्रीय संघर्ष समितिले बुधबार काठमाडौंमा विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अध्यक्ष माधवकुमार नेपालले संयुक्त आन्दोलनको प्रस्ताव गरेलगत्तै बोलेका जसपाका नेता डा. बाबुराम भट्टराईले संसदीय प्रणालीको विपक्षमा विचार राखेका थिए । भट्टराईपछि बोलेका नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले भने संसदीय पद्धतिलाई खराब मान्न नहुने प्रतिक्रिया दिए । रिजाल बोल्दै गर्दा भट्टराई कार्यक्रम स्थलबाट निस्किए ।

स्वास्थ्य अवस्थाका कारण कार्यक्रमको शुरुमै बोलेका डा. भट्टराईले संसदीय व्यवस्थालाई मात्र लोकतन्त्र मान्ने गरिएको भन्दै असन्तुष्टि जनाए । उनले भने ‘चिसो भनेकै कोकाकोला भने जसरी संसदीय व्यवस्था मात्र लोकतन्त्र हो भन्ने गरिएको छ,त्यो गलत हो ।’

संविधान निर्माण गर्दै गर्दाको सन्दर्भ उल्लेख गर्ने क्रममा उनले तत्कालीन माओवादी संसदीय व्यवस्थाको कट्टर बिरोधी हुँदाहुँदै पनि संविधान बनाउनैपर्ने बाध्यताका कारण आफूहरुले सुधारिएको संसदीय प्रणालीको पक्षमा सहमति जनाएको बताए । उनको दाबी थियो ‘हाम्रो त प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्छ भन्ने नै थियो । तर,अन्य दलहरुसँग कम्प्रोमाइज गरेर उन्नत खालको संसदीय प्रणालीको पक्षमा सहमति जनाएका हौं ।’

भट्टराईलाई जवाफ दिँदै डा. रिजालले आफूहरु संसदीय व्यवस्थाको पक्षधर भएको बताए । पहिलो संविधानसभा भङ्ग हुँदाको प्रसङ्ग कोट्याउँदै उनले त्यतिबेला डा. भट्टराइले पनि गल्ती गरेको आरोप लगाए । ‘भन्दा आलोचना गरेको जस्तो होला तर मैले भन्नैपर्छ । हुन त अहिले उहाँ यहाँ हुनुहुन्न । संविधानसभा विघटन हुँदा  प्रधानमन्त्री हुनुहुन्थ्यो । हामीले अन्तिमसम्म पनि विकल्पका बारेमा सल्लाह गरौँ भन्दा मान्नुभएको थिएन । त्यसैले हामीले आफ्ना कमजोरीका बारेमा पनि समीक्षा गर्नुपर्छ ।’

दुई डाक्टरबीच सर्वोच्च अदालतलाई हेर्ने दृष्टिकोणमा पनि फरक देखिएको थियो । डा. भट्टराईले अदालतप्रति आशा भए पनि भरोसा नरहेको बताए । रिजालले भने अदालतप्रति भरोसा राख्नुपर्नेमा जोड दिए । डा. भट्टराईको नामै लिएर उनले भने ‘म उहाँले भनेजस्तो आशा गरौँ,भर नपरौं भन्दिँन,बरु अदालतप्रति आशा गरौँ,विश्वास पनि गरौँ भन्छु ।’

केही राजनीतिक विषयमा दुई नेताबीच फरक देखिए पनि प्रधानमन्त्री ओलीको कदम संविधान माथिको ‘कू’ हो भन्नेमा भने दुवैजनाले सहमति जनाए ।  संयुक्त आन्दोलनको वातावरण बन्नुपर्नेमा पनि दुवैजना एकमत देखिएका थिए ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो। 

विशेष