एसएसवीको अवरोधपछि हुलाकी सडकमा पुल निर्माण रोकियो
हुलाकी सडक अन्तर्गत सप्तरीको खडग खोलाको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ । कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका–६ कटैयामा रहेको अन्तिम बिन्दुमा पुल निर्माणमा अपरोध गरिएको हो ।
नेपाल भारत सीमा छुट्याउने पिलर भन्दा १ सय ९५ मिटर उतर नेपालतर्फ सो पुल निर्माण गर्ने योजना रहेपनि एसएसबीले आफूहरुलाई माथिल्लो निकायबाट निर्देश नआएसम्म पुल निर्माण गर्न नदिने बताएको हुलाकी आयोजनाका इन्जिनयर आशुतोष कर्णले बताए ।
२०७६ साल माघ ८ गते उक्त पुल निर्माणका लागि काठमाडौंको इलाइट कम्पनीसँग सम्झौता भएको थियो । १८ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुल निर्माण गर्न ३० महिनाको समयावधि तोकिएको छ ।
इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
इन्जिनियर कर्णका अनुसार ११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ ।
सप्तरीका सिडिओ शंकरहरि आचार्यले त्यस विषयमा आफुले पनि एसएसबी र डिएमसँग कुरा गरेको वताए । नेपालको नक्सासहित कुरा गर्दा पनि भारतीय पक्षले माथिल्लो तहबाट टोली बोलाउने वताएको उनको भनाई छ । त्यस विषयमा गृहमन्त्रालयलाई पनि जानकारी गराइएको उनले जानकारी दिए ।