प्रदेश १ का मुख्यमन्त्रीसहित ८ मन्त्रीलाई कारवाही गर्ने प्रचण्ड–माधव पक्षको तयारी
नेकपा प्रचण्ड–माधव समुहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आधा दर्जन मन्त्रीहरुलाई कारवाहीको तयारी सुरु गरेको छ । उक्त समुहले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई निलम्बन गर्ने तयारी गरेको छ ।
सो समुहले वुधवार मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री, हिक्मत कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका बुद्घिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, विमल कार्की र अम्बिका थापासँग २४ घण्टे स्पष्टिकरण माग गरेको श्रोतले जनाएको छ । ओली समूहमै रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतलाई भने स्पष्टिकरण सोधिएको छैन ।
ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि २४ घण्टे स्पष्टिकरण सोधेको हो । प्रमुख सचेतकलाई जानकारी नदिई मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै गत बिहीबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ मध्ये १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
पुस १५ गते प्रचण्ड–माधव समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरेको थियो । १९ पुसमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई जिम्मेवारीबाट हटाएको थियो ।
प्रचण्ड–माधव पक्षले भने संसदीय दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत काम गरेको भन्दै उनीहरुलाई कारवाही गर्ने तयारी गरेको श्रोतको भनाई छ ।