News राजनीति

प्रधानमन्त्री ओली धनगढीमा, प्रदेश सकारले वास्ता गरेन

प्रधानमन्त्री ओली धनगढीमा, प्रदेश सकारले वास्ता गरेन

प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्न पुगेका छन् । श्री एयरलाइन्सको जहाज मार्फत उनी धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओली धनगढी पुग्नु अघि नै नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियूका कार्यकर्ताले विरोध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए । ओलीको विरोधमा जिल्ला प्रशासन कार्यालय, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक टायर बालिएको थियो।

यद्यपी प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । आफ्नो गुटको सभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि शुक्रबार बिहानैदेखि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक, खुलामञ्च र मुख्य सडकमा १० मिटरको दूरीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

धनगढीमा प्रधानमन्त्री ओलीको स्वागत गर्नका लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता छैन। प्रधानमन्त्री ओली आफैँले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव समुहले उनको विरोध गरिरहेका कारण प्रदेश सरकारको औपचारीक सहभागित देखिएको छैन ।

मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–नेपाल समूहमा छन् । त्यसैले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसद प्रधानमन्त्री ओलीको स्वागतमा सहभागी भएनन् ।   

त्यस्तै, जनसभा आयोजक नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएको बताइएको छ । 
 

विशेष