सप्तरीमा डेढ महिनाभित्र करेन्ट लागेर दुई वटा जंगली हात्तीको मृत्यु
सप्तरीमा डेढ महिनाभित्र करेन्ट लागेर दुई वटा जंगली हात्तीको मृत्यु भएको छ। शुक्रवार राती गहुँवारीमा लगाइएको करेन्ट लागेर एउटा जंगली हात्तीको मृत्यु भएपछि करेन्ट लागेर मर्ने हात्तीको संख्या २ पुगेको हो ।
खड्ग नगरपालिका–५ अमहामा गहुँवारीमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले जानकारी दिए ।
यसअघि मंसिर ६ गते राती कञ्चनरूप नगरपालिका–५ पडेमारास्थित धानखेतमा भाले हात्ती मृत फेला परेको थियो । धान खान गाउँ पसेको भाले हात्तीको करेण्ट लागेर मृत्यु भएको स्थानीय बच्चुलाल चौधरीले बताए ।
उत्तर–दक्षिण गएको ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको छ र बिजुलीको पोल ढलेको थियो ।
कोशी टप्पु वन्य जन्तु आरक्षबाट ३÷४ वटाको संख्यामा आएको हात्तीको समूहले धान खाएर नष्ट पारेको र उनीहरुमध्ये अन्दाजी ७० वर्षको बहिरो हात्तीको बिजुलीको करेण्ट लागेर मृत्यु भएको गाउँलेहरु बताउँछन् ।
दुर्घटनावस करेण्ट लागेर हात्तीको मृत्यु भएको देखिएको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले बताए । कम उचाईबाट बिजुलीको तार लगेको वा हात्तीले पोलमा धक्का दिदाँ करेन्ट लागेको उनको भनाई छ ।