News

चर्को विवादमा परेपछि आपूर्तिमन्त्री हमालले दिए राजीनामा

चर्को विवादमा परेपछि आपूर्तिमन्त्री हमालले दिए राजीनामा

चर्को विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाए।

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका हुन । विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए । हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामा दिएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘हाल विभिन्न सञ्चारमाध्यायमहरूमा सम्प्रेसित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ,’ उनले राजीनामा पत्रमा लेखेका छन्, ’मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

राजीनामा पत्रमा हमालले लामो समय कांग्रेसमा रहेर काम गरेको तर अहिले अन्यत्र जोडेर प्रश्न उठेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘लामो समयदेखि कांग्रेसको विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा लेखेका छन् ।
 

राजीनामा गजेन्द्रबहादुर हमाल

विशेष