नेपाली सेनाका प्रधान सेनापतिले किन भट्दैछन् विदेशी राजदुत

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न देशका (कुटनीतिज्ञ) राजदुतहरुसँग भेटघाट गरिरहेका छन्। साउन २५ गते कायममुकायम सेनापति भएदेखि नै उनले राजदुतहरुसँग भेटघाट गरिरहेका छन् ।
राजदुतहरु सेनापतिलाई जंगी अड्डा पुग्ने गरेका छन् । सेनापति शर्माको राजदुतहरुसँगको निरन्तर भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ।
उनले छिमेकी राष्ट्रसहित अन्य मित्रराष्ट्रका कूटनीतिज्ञहरुसँग भेटने क्रममा विहिवार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि सारा ब्यसोलो न्यानतीसँग पनि भेटवार्ता गरे।
शर्माले बुधबार पाकिस्तानी कार्यवाहक राजदूत अदनान जावेद खानसँग र असोज ६ गते चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गरेका थिए भने भदौ १६ गते इजरायलका राजदूत हानान गोडरेलसँग र साउन २९ गते भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा दुई देशका सेनाबीचको आपसी सम्बन्धबारे चर्चा भईरहेको वताइन्छ।
शर्मा भदौ २४ गते ४४औं प्रधान सेनापतिका रूपमा नेतृत्व नियुक्त भएका हुन । प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको प्रचलन अनुसार अवकाश पाउनु एक महिनाअघि घर बिदामा गएपछि शर्मा नियुक्त भएका हुन ।
शर्माले नेपालको एकीकरण जति नै पुरानो इतिहास रहेको र ९० हजारभन्दा बढी फौज रहेको नेपाली सेनाको नेतृत्व सम्हालिरहेका छन् । नेपाली सेनामा ३७ वर्ष बिताएका शर्मा ब्राह्मण जातिबाट सङ्गठनको नेतृत्व गर्ने पहिलो सेनापति हुन्।
साउनबाट सेनाले दुई दशकदेखि कायम पृतनाको संरचनालाई अन्त्य गर्दै तीन जोर एक भनिने नदीघाँटी प्रणालीमा आधारित सङ्गठनात्मक संरचनालाई कार्यान्वयनमा ल्याएको छ। त्यस अनुसार सेनाको मुख्यालय जङ्गी अड्डाले रणनीतिक विषय मात्रै हेर्ने र नयाँ कमान्डहरूले सैनिक अपरेसनको विषय हेर्ने बताइएको छ। उक्त पुनर्संरचनाको काम सम्पन्न हुन छ वर्ष लाग्ने भनिएको छ।
साङ्गठनिक पुनर्संरचनामा शर्मा संलग्न भएकाले त्यसको व्यवस्थित कार्यान्वयन भावी प्रधानसेनापतिको प्राथमिकतामा पर्ने नेपाली सेनाका एक उच्चपदस्थ अधिकारीले बताए।