News

रूपन्देही १७ र १८ मा २० घण्टादेखी कर्फ्यु, यस्तो थियो झडपको कारण

रूपन्देही १७ र १८ मा २० घण्टादेखी कर्फ्यु, यस्तो थियो झडपको कारण

मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु र ५० जना घाइते भएपछि रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु २० घन्टादेखि जारी छ।

स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेका हुन्।

मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको उनले बताए। औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोजेको थियो।

हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ। 

गत वैशाखयता बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रभित्र जग्गा कब्जा गरी बस्न बुटवल आसपास तथा पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रोल्पासँगै मकवानपुर र कञ्चनपुरबाट समेत दैनिक मानिसहरू आईरहेका छन् ।

२०७२ साल चैत १ गते नेपाल सरकारले रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा ग¥यो। धेरैजसो बुटवल उपमहानगरपालिकाको वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको र तिनाउको नदी उकास क्षेत्रको सार्वजनिक जग्गा हो।

५ वर्षभित्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको उक्त निर्णयमा सबै राजनितिक दलहरूले पनि सहमति गरेका थिए। तर, औद्योगिक क्षेत्र स्थापना हुन नसक्दा जग्गामा नै सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको छ।

वैशाख पहिलो सातादेखि नै औद्योगिक क्षेत्रको जग्गामा कब्जा गरी छाप्रा हाल्न सुरू गरे पनि उतिबेला प्रहरीले चार सय भन्दाबढी छाप्राहरूमा आगो लगाएर कब्जा गरेकाहरूलाई लखेटेको थियो। तर पछिल्लो समय जग्गा कब्जा गर्ने क्रम व्यापक भएको छ।

यही जग्गा कब्जा गर्न रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, दाङ, बाँके लगायत देशका अधिकांश जिल्लाबाट सुकुम्बासीको नाममा सर्वसाधारण आउने गरेका छन्। स्थानीय अर्जुन गिरीले दिउँसोको समयमा ४ हजार भन्दाबढी व्यक्तिहरू सुकुम्बासीको नाममा गाडी रिजर्ब गरेरै आउने र साँझ गाडीमै फर्किने गरेको बताए।

आइतबार पनि बिहानैदेखि सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रभित्र जाने क्रम सुरू भएको थियो। स्थानीय प्रशासन पनि जग्गा कब्जा गरेर बसेकाहरुलाई लखेट्ने योजनामा विहानैदेखि तयारी अवस्थामा थियो। सोहि क्रममा प्रहरीले औद्योगिक क्षेत्रबाट बाहिर निकाल्न खोजेपछि जग्गा कब्जा गरि बसेकाहरु प्रहरीमाथी ढुंगामुढामा उत्रिएका थिए। त्यसपछि प्रहरीसँगको झडपमा ४ जनाको मृत्यु र ५० जना घाईते भएका छन् ।

यो पनि

वुटवलामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

सुकुम्बासी मोतीपुर औद्योगिक क्षेत्र

विशेष