News

न्याय खोज्ने महिलामाथि प्रहरीको झुठो मुद्दा, पुर्वाग्रह राखेको पीडित पक्षको आरोप

न्याय खोज्ने महिलामाथि प्रहरीको झुठो मुद्दा, पुर्वाग्रह राखेको पीडित पक्षको आरोप

हिंसाको घटनामा छानबिन हुनुपर्ने माग राखी २० दिनअघि पैदल यात्रा गरेर गत शुक्रबार (असोज २२ गते) काठमाण्डौं पुगेकी नेपालगञ्जकी रुवी खान पठानलाई प्रहरीले झुठो मुद्दामा फसाउन खोजेको पाईएको छ। 

वाँकेमा भएका दुईवटा हिसांका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै एसपीसहितका अधिकारीमाथि छानविन गर्न दवाव दिएपछि उनलाई फसाउन खोजिएको स्रोतले जनाएको छ। हिंसाका घटनामा प्रहरीको संरक्षण रहेको आरोप लगाउँदै रुवीले लामो समयदेखि आन्दोलन गर्दै आएकी थिईन। 

उनको आन्दोलनवाट आत्तिन थालेको प्रहरीले पक्राउ गर्न मौका पर्खेर वसेको र काठमाण्डौं पुगेपछि योजनावद्ध रुपमा पक्राउ गरेको वताईएको छ। जानकारहरुका अनुसार रुवी माथि बाँके प्रहरीले बहुबिवाहको फर्जी मुद्दा चलाउन लागेको छ। 

अदालती रकेर्ड अनुसार रुबी खान पठान र शेर बागवानविच १८ साउन २०७८ मा आपसी सरसल्लाहमै सम्बन्धविच्छेद भएको थियो । सोही मुद्दालाई जगाएर रवीलाई प्रहरीले फसाउन खोजेको जानकारहरु वताउँछन् ।

पहिले नै विहे गरेर बालबच्चा भइसकेका शेर बागवानसँग रुबीले विवाह गरेको जाहेरी परेपछि बहुविवाहको आरोपमा छानबिन गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय वाँकेले जनाएको छ । बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जाहेरी परेपछि भदौं २४ गते अदालतको अनुमतीमा उनलाई पक्राउ गरिएको वताए ।

रेकर्ड अनुसार ०६१ सालमा सम्बन्धविच्छेद गरेर एक्लै वसेका शेर बागवानले ०७० सालतिर मात्रै रुबीलाई विहे गरेका हुन । सम्बन्ध विच्छेद गरिसकेको पुरुष÷महिलाले अर्को विवाह गर्दा बहुविवाहको मुद्दा आकर्षित नहुने कानुनविदहरु वताउँछन् ।

तर, यही प्रसंगमा प्रहरीले षडयन्त्रपुर्वक जाहेरी हाल्न लगाएर रुवीलाई पक्राउ गरेको आरोप लागेको छ। अदालतले पनि पुरानो कागज र मिसिल नहेरी पक्राउ पुर्जी जारी गरेको कानुनविदहरु नै वताउँछन् । आठ वर्षअघि विवाहका बेला शेर बागवानको पहिलो विवाहको कानूनी अवस्था कायम थियो भनी जाहेरी दिने पूर्वप्रहरी उदयबहादुर कार्कीले पनि आफनै दावी पुष्टि गर्ने प्रमाण पेश गर्न सकेका छैनन ।

अर्कोतर्फ भदौं २५ गते अदालतबाट अनुमती पाइसकेको बाँके प्रहरीले लामो समयसम्म रुवीलाई पक्राउ नगरी काठमाण्डौं पुगेर आन्दोलन चर्काउन थालेपछि मात्रै असोज २२ गते पक्राउ गरेको पाईएको छ। 

एसपी अधिकारीको भनाईमा पछि उच्च अदालतको नेपालगञ्ज इजलासले नै रुबीमाथि बहुविवाहमा मुद्दा चलाउनु भन्ने आदेश गरेको थियो । तर उच्च अदालतको अभिलेखमा भने कुनै आदेश जारी भएको उल्लेख छैन, केवल रिट निवेदनमार्फत खारेज भएको देखिन्छ ।

महानगरिय प्रहरी वृत्त सिंहदवारले सर्वोच्च अदालतमा समेत झुटो जवाफ लेखेको छ । महानगरिय प्रहरी वृत्त सिंहदरवारका डिएसपी भरत श्रेष्ठले पठाएको लिखित जवाफमा असोज २२ गते बाके प्रहरीले आफूहरुलाई पत्र पठाएको र त्यही पत्रका आधारमा माइतीघर मण्डलामा फेला पारी पक्राउ गरिएको दावी गरिएको छ।

रुवीसहितका १३ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रहरीले पक्राउ परेका १३ जना मध्ये रुवीलाई मात्रै प्रहरीले लैनचौर वृत्तमा पठाएको थियो ।

पीडित रुबीको कानूनी उपचारमा संलग्न अधिवक्ता मोहना अन्सारीका अनुसार अदालतको आदेशपछि हतारहतार रुबीलाई प्रहरीले नेपालगञ्ज पठाएको हो । बुद्ध एयरको टिकट हेर्दा पनि यथार्थ विवरण स्पष्ट हुने उनी वताउँछिन् ।

रुबी पक्षधरहरुको भनाई अनुसार, उनी केही सातादेखि नेपालगञ्जमा हिंसा पिडितमाथि न्याय हुनुपर्ने माग राखी धर्नामा थिइन । त्यसपछि प्रदेश प्रमुखको कार्यालयअगाडी पनि उनले धर्ना दिईन। जिल्ला प्रशासन कार्यालयअगाडी १९ दिन धर्ना वसेकी रुवीलाई त्यतिबेला नै प्रहरीले तारो वनाएको थियो । तर, एक महिनाअघि पक्राउ पुर्जी लिएर वसेको प्रहरीले त्यसवेला उनलाई पक्राउ त के सोधपुछसम्म गरेन। 

उनीहरु पैदलै हिडेर काठमाण्डौं आएर धर्ना दिनथालेपछि लुम्बनी प्रदेश प्रहरी कार्यालयकै उच्च अधिकारीहरुको आदेशमा उनलाई पक्राउ गरेको देखिएको छ। प्रहरी मुख्यालय स्रोतले भन्यो, ‘रुबी खान पठानको पुरानो मुद्दा हेर्नुपर्छ र मिल्ने भए त्यसलाई फेरी अनुसन्धान गर्नुपर्छ भनेर निर्देशन आएको थियो ।’

‘रुबीले आन्दोलन नथालुञ्जेल प्रहरीलाई यी विषयवारे कुनै चासो र मतलब थिएन’ अन्सारीले भनिन्, ‘आफूहरुको भूमिकामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले सबैतिर कागजात मिलाएर उनलाई दशैं विदाको अघि पक्राउ गर्ने र लामो समय थुनामा राख्ने राणनीति बनाएको देखिन्छ।’
 

रुवी खान

विशेष