News विदेश समाज

अफगानिस्तनको हेलमन्द प्रान्तमा दाह्री नकाट्न हजामलाई तालिबानको उर्दी

अफगानिस्तनको हेलमन्द प्रान्तमा दाह्री नकाट्न हजामलाई तालिबानको उर्दी

काबुल। तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा नाइलाई दाह्री नकाट्न आदेश दिएको छ। दाह्री सेभ गर्नु वा काट्नुले इस्लामी कानुनको अवमूल्यन हुने तालिबानको दाबी छ।

तालिबान धार्मिक पुलिसले यस नियमको उलंघन गरेको पाइएमा कडा सजाय दिइने जनाएको छ। राजधानी काबुलका केही नाइले पनि आफूहरूलाई यही आदेश जारी भएको बताएका छन्।

यो निर्देशनले तालिबानको पुरानो कट्टर शासन फर्किरहेको भान भइरहेको बताइएको छ। तालिबानले आफूहरू यस पटक नरम बन्ने बताए पनि त्यो व्यवहारमा देखिएको छैन।

सत्तामा पुगेपछि तालिबानले आफ्ना विरोधिहरूलाई कडा सजाय दिइरहेका छन्। शनिबार तालिबानले चार जनालाई अपहरणको अभियोगमा हत्या गरेर सडकमा क्रेनको सहायतामा शव झुन्ड्याइदिएको थियो।

काबुलमा एक हजामले भनेका छन्, "लडाकुहरूले पटक-पटक आएर दाह्री नकाट्न आदेश दिइरहेका छन्।" अर्का एक नाइ व्यवसायीले आफूलाई सरकारी अधिकारी भन्दै एक जनाले फोन गरेको बताएका छन्। उनले आफूलाई अमेरिकी स्टाइलमा कपाल नकाट्न तथा दाह्री नकाट्न आदेश दिएको बताएका छ्न्।

१९९६ बाट २००१ सम्म तालिबानको पहिलो शासनका क्रममा इस्लामिक संगठनले आकर्षित गर्ने हेयरस्टाइलमाथि प्रतिबन्ध लगाएको थियो। अहिले पनि तालिबानले सोही व्यवहार दोहोर्‍याइरहेको छ।

विशेष