News

११ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खानको अनशन तोडियो

११ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खानको अनशन तोडियो

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन समित गठन गरेपछि ११ दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुबी खानले अनशन तोडेकी छन् ।

दुवै महिलामाथि भएको अन्यायका सम्बन्धमा छानबिनका लागि समिति गठन गर्ने र समितिले दिएको सुझावलाई अक्षरश पालना गर्ने शर्तमा उनले अनशन तोडेकी हुन ।

रुबी खानले माइती नेपालकी संरक्षक अनुराधा कोइराला, मानव अधिकारकर्मी मोहना अन्सारी, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको रोहबरमा मंगलवार अनशन तोडिन। उनी त्रिवि शिक्षण अस्पतालमा अनशन वसेकी थिईन। 

अनशनरत स्थलमै पुगेर सहमति गरेपछि अनशन तोडाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको उनले जानकारी दिएका छन्।

मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा मंगलबार छानबिन समिति गठन भएको हो । समितिका सदस्यहरुमा नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धानका निर्देशक धिरेन्द्रसिंह कार्की, कानूनका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत प्रतिनिधि छन् ।

समितिलाई दुवै घटनाको अध्ययन, अनुसन्धान गरी राय–सुझाव पेश गर्ने कार्यादेश दिइएको छ।

धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका थिए भने आन्दोलनको नेतृत्व गरिरहेकी खान ११ दिनदेखि आमरण अनशनमा थिइन् ।

नन्कुन्नी र निर्मलाको न्यायका लागि नेपालगञ्जमा १९ दिनसम्म जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका उनीहरु २१ असोजमा काठमाडौं आइपुगेका थिए ।

घरेलु हिंसाबाट पीडित भई मृत्युवरण गरेकी नन्कुन्नी धोबीको मृत्युमा दोषी रहेका ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्नुपर्ने उनीहरुको माग छ । त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको घटनाका दोषीहरुलाईसमेत पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
यो पनि

सर्वोच्चको आदेशपछि रुबी खान रिहा, धरपकड नगर्न आदेश

रुबी खान

विशेष