News स्वास्थ्य देश

स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री आतंक :सरुवा–वढुवाबाटै महाधिवेशनको तयारी

स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री आतंक :सरुवा–वढुवाबाटै महाधिवेशनको तयारी

‘स्वास्थ्य क्षेत्रको विकृति हटाउन’ आएको बताउने ब्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्मन्त्री भएको दुई महिना नाघेको छ। तर, यो दुई महिनामा उनले सिन्को पनि भाँचेका छैनन् । स्वास्थ्य क्षेत्र सुधारका नाममा श्रेष्ठले विकृति भित्र्याउने र एकपछि अर्को सरुवा आतंक मच्चाएको मन्त्रालयका अधिकारीहरु वताउँछन् ।

सरकारले दशैंअघि १ करोड ६० लाख नागरिक र आगामी वैशाखसम्म सवै नागरिकलाई खोप लगाई सक्ने घोषण गरेको छ । तर, राज्यमन्त्री श्रेष्ठको प्राथमिकता कोरोना महामारी नियन्त्रण र खोपमा परेको छैन । मन्त्री वनेको ६० दिनमा एउटा पनि नीतिगत निर्णय गर्न नसकेका श्रेष्ठले सरुवा भने एकपछि अर्को गर्दै गएका छन् । मन्त्रालयमा उनको आतंकले कर्मचारीहरु आजित छन् ।

मन्त्रालयका एक सहसचिवमा अनुसार श्रेष्ठ अहिले कांग्रेस महाधिवेशनका लागि पैसा उठाउन ब्यस्त छन् । कर्मचारीको सरुवा वढुवामा मोटो रकम असुलेर उनी प्रधानमन्त्री देउवाको हजुरी गर्न लागि परेको उनले वताए । श्रेष्ठ अहिले देउवाको शालिकको रुपमा वा निमित्तको रुपमा काम गरिरहेको उनको दावी छ। 

प्रधानमन्त्री पत्नि आरजु देउवाको निर्देशन अनुसार उनले कर्मचारीको सरुवा र वढुवा गर्ने गरेका छन् । त्यसका लागि उनले नियम कानुन र नजिरसमेतको धज्जि उडाएको कर्मचारीहरुको भनाई छ। जसो मन लाग्यो उसै काम गर्दा कतिपय अवस्थामा उनले आफैले सरुवा गरेको ब्यक्तिलाई भोलीपल्ट माफि मागेर नियुक्ति पत्र फिर्ता माग्नु परेको समेत अधिकारीहरुको भनाई छ।

‘कोरोना नियन्त्रण, स्वास्थ्य क्षेत्रको भद्रगोल व्यावस्थापन र खोपमा मन्त्रीको ध्यान पटक्कै देखिएन,’ एक अधिकारी भन्छन्, ‘शक्ति केन्द्र रिझाउन कानून विपरीत निर्णयहरु गर्ने, योग्यता नपुगेका कर्मचारीलाई महत्वपूर्ण निकायको जिम्मेवारी सुम्पिनेमा उनी रमाईरहेका छन्।’

राज्यमन्त्री श्रेष्ठले विज्ञ कर्मचारीको सुझाव सुन्नेभन्दा शक्ति केन्द्रको स्वार्थ र निर्देशन अनुरुप निर्णयहरु गर्दा मन्त्रालयको काम कारबाही समेत प्रभावित हुँदै गएको अर्का एक अधिकारी बताउँछन् । सुध्रिँदै गएको स्वास्थ क्षेत्रको ‘सिस्टम’लाई श्रेष्ठको कार्यशैलीले फेरि भताभुंग पारेको उनको भनाई छ।

श्रेष्ठले सिनियर चिकित्सक भएको ट्रमा सेन्टरमा कनिष्ठलाई नियुक्ती गरेका छन् । त्यहाँका ६ जना चिकित्सकले ११औं तहको चिकित्सकलाई ट्रमा सेन्टरको निर्देशक बनाउन माग गर्दै आएका थिए ।

१९ साउनमा युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकृतमा नियुक्ति पाएका डा. रुद्र मरासिनीले त्यस्को नेतृत्व गरेका थिए । उनको नियुक्तिपत्र लगत्तै खोसेर दशौं तहका डा. भुपेन्द्र बस्नेतलाई दिइयो ।

ट्रमा सेन्टरमा पनि त्यही हुन सक्ने भन्दै मरासिनीले स्वास्थ्य मन्त्रालयको कार्यभार समेत सम्हालेका प्रधानमन्त्री देउवालाई भेट्ने खोजे । तर, त्यसको भोलिपल्टै श्रेष्ठले १०औं तहकै डा. प्रमोद जोशीलाई ट्रमा सेन्टरको निमित्त निर्देशक नियुक्त गरिदिए । ११ औ तहका मरासिनीलाई ट्रमामा लाने तयारी भईरहेका वेला जोशीलाई लगिएको थियो ।

९ महिनाअघि धनगढीबाट कान्ति बाल अस्पताल सरुवा भएर काजमा ट्रमा सेन्टरमा आएका डा. जोशी प्रधानमन्त्री देउवा पत्नी आरजु राणा निकट मानिन्छन् । त्यही निकटताबाट उनी निमित्त निर्देशक बन्न सम्भव भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रधानमन्त्री निवासबाट १०औं तहका डा. जोशीको नाम आएपछि राज्यमन्त्रीज्यूले मरासिनीको नाम हटाएको मन्त्रालयका अधिकारीहरु वताउँछन् । 

वीर अस्पतालमा पनि बालुवाटारकै स्वार्थमा ११ औं तहका डा. जागेश्वर गौतमको साटो १०औं तहका डा. भुपेन्द्र बस्नेतलाई प्रमुख प्रशासकीय अधिकृत बनाइयो । ट्रमामा पनि ११औं तहकालाई निर्देशक बन्नबाट वञ्चित गरियो ।

गत साउनमै स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा ११औं तहका डा. आरपी बिच्छा नियुक्त भए । १२औं तहका डा. दीपेन्द्ररमण सिंहलाई हटाएर अवकाश पाउन ३ महिना बाँकी रहेका बिच्छालाई महानिर्देशक बनाउने प्रधानमन्त्री पत्नी आरजु राणाको ‘सदिच्छा’ रहेको वताईन्छ।

वरिष्ठलाई पन्छाएर कनिष्ठलाई ल्याउनुमा सरकारले खरीद गर्ने खोपको कमिसनसँग पनि जोडिएका स्रोत वताउँछ। खोप किन्ने सबै प्रकिया स्वास्थ्य सेवा विभागबाट हुन्छ । 

खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमलाई व्यवस्थापन महाशाखा पठाइएको छ । कोभिड–१९ महामारीमा खोप व्यवस्थापन गरिरहेका खोपकै विज्ञ शर्माको ठाउँमा सागर दाहाललाई ल्याइएको छ । त्यस्तै, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा. यदुचन्द्र घिमिरेलाई हटाएर उनीभन्दा कनिष्ठ केशव पण्डितलाई निर्देशक बनाइएको छ ।

त्यसैगरी परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेललाई हटाएर डा. विवेक लाललाई ल्याइयो । १२औं तहमा बढुवा हुने बेलामा डा. पोखरेललाई थन्काउने हिसाबले सार्क क्षयरोग केन्द्रमा लगिएको छ । उनले कोरोना महामारीमा खोप व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।

श्रेष्ठले समायोजना ऐन विपरित प्रदेशमा समायोजन भएका महेश्वरलाल श्रेष्ठलाई आफ्नो विज्ञ सल्लाहकारको रुपमा काजमा ल्याएको पनि श्रोत वताउँछ। डा. राधिका थपलियालाई स्वास्थ सेवा विभाग अन्तर्गत फाजिलमा राखेर डा. सुनिल शर्मालाई राष्ट्रिय सूचना केन्द्रको निर्देशक बनाइएको छ।

तीन वर्षदेखि फाजिलमा रहेकी डा. थपलियालाई तीन महिनाअघि मात्र केन्द्रको निर्देशक बनाइएको थियो । श्रेष्ठले चलखेलका आधारमा यो वाहेक पनि धरैको सरुवा गरेका छन् । उनको प्राथमिक्तामा अहिले पैसा र माथिको आदेश मात्रै रहेको मन्त्रालयका अधिकारीहरु वताउँछन् । 

राज्यमन्त्री श्रेष्ठले भने आफुमाथि लागेको आरोप अस्विकार गरेका छन् । आफुले मन्त्रालयवाट पाउने सेवा सुविधा समेत नलिने घोषणा गरेको वताएका उनले एक पैसा कसैवाट लिएको प्रमाणित भए मन्त्रालय जाने छोड्ने वताए । महाधिवेशनका लागि पैसा उठाएको विषयमा पनि हावादारी भएको उनले वताए । 

स्वास्थ्य मन्त्रालय उमेश श्रेष्ठ सरुवा–वढुवा

विशेष