News

वाढि र पहिरोमा परेर इलाम र पाँचथरमा मात्रै ४० जनाको मृत्यु

वाढि र पहिरोमा परेर इलाम र पाँचथरमा मात्रै ४० जनाको मृत्यु

इलाम र पाँचथरमा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। पाँचथरमा २७ जनाको मृत्यु भएको छ भने इलाममा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म पाँचथरको मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ भने पहिरोमा ३ जना बेपत्ता भएका छन् ।

मिक्लाजुङ कुरुम्बामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता भएको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । खोलाले बगााउँदा सोही गाउँपालिकाको वडा नं १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगााउँदा १ जना बेपत्ता भएका छन् ।

वडा नं ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मंगलबार राति पहिरोमा पर्दा फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको छ। 

यसैगरी, इलाममा १३ जनाको मृत्यु भएको छ। पहिरोमा परेर ११, भेलले बगाएर एक र रुखले किचेर १ जनाको मृत्यु भएको हो।

पहिरोमा परेर दुईजना वेपत्ता र चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

बाढी पहिरोको कारण मांसेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने त्यहाँका दुईजना बेपत्ता छन् । फाकफोकथुम गाउँपालिकामा पहिरोले पुरिएर एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ ।

फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीय रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षी निश्चित कटवालको मृत्यु भएको छ। 

माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्योदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षी विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ ।

देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माइ नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय वेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ ।पहिरोमा परेर मांसेबुङ ६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम १ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

मानवीय क्षत्रीसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठुल्ठुलो क्षति भएको गाउँपालिका अध्यष डिकेन्द्र इदिंगोले बताए। बुधबार बिहान देखि भने वर्षा रोकिएको छ । 
 

पहिरो

विशेष