News

गाउँमाथिबाट पहिरो खसेपछि १७० परिवार विस्थापित, सञ्चार सेवा अवरुद्धहुँदा थप सास्ति

गाउँमाथिबाट पहिरो खसेपछि १७० परिवार विस्थापित, सञ्चार सेवा अवरुद्धहुँदा थप सास्ति

बझाङको खप्तडछान्ना गाँउपालिकामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । पिठातोलामा २ जना बेपत्ता भएकाछन् । घरमाथिबाट पुरिँदा खप्तडछान्ना गाँउपालिकाको माझीगाँउ र कालुखेतीका दुई/दुई जनाको मृत्यु भएको हो ।

वडा नम्बर ४ माझिगाँउका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र उनकी ४१ वर्षीया श्रीमतीको पहिरोमा पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै वडा नं ५ कालुखेतीमा अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

चारै जनाको पहिरोले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खडकाले जानकारी दिए ।

 

पहिरोमापरी ज्यान गुमाएका खप्तड छान्ना गाउँपालिका ४  धर्मराज रोकाया र उनकी धर्मपत्नि


सोमबार रातिको पहिरोमा परेर बझाङको थलारा गाउँपालिका–४ डिक्लामा २३ जना र खप्तडछान्नाका पिठातोलामा २ जनासहित २५ जना वेपत्ता भएका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडाबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको र २५ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर गगने सार्कीको एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सम्पर्कमा छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि डिक्लाका १७० भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका छन् ।

पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिएर वसेको जनाईएको छ ।

पहिरो खसिरहेका कारण उद्धार हुन सकेको छैन । आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । ठाउँठाउँमा पोल ढलेका कारण जिल्लाभरको विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ ।

बेपत्ताको खोजिगर्न जिल्लास्थित सुरक्षा निकाय घटनास्थल तर्फ प्रस्थान
थलारा गाउँपालिका– ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीकार्यका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ उडेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्य जारी राखे पनि बेपत्ताहरूको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए ।


‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको रेस्क्यु टोलीसहित नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगी बेपत्ताहरूको खोजीकार्य भइरहेको छ ।’ डिएसपी रूपक खड्काले भने ।

वझाङमा पहिरोमा परेर एकै परिवारका १८ सहित २४ वेपत्ता

बाढी–पहिरो बझाङ पहिरो

विशेष