News राजनीति

ओलीको राजनीतिक प्रतिवेदनमा चीनको चाप्लुसी, अमेरिकाको आलोचना

ओलीको राजनीतिक प्रतिवेदनमा चीनको चाप्लुसी, अमेरिकाको आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चीनको भरपुर प्रशंशा गरेका छन् । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा अमेरिकाको भने आलोचना गरिएको छ।

ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पूर्वमा चीन जबर्दस्त शक्ति हुने प्रक्षेपण गरिएको छ । ओलीले विश्व राजनीति र अर्थतन्त्रको केन्द्र एसियामा सरेको भन्दै चीनलाई पूर्वी क्षेत्रको ठूलो शक्तिका रूपमा उभ्याएका हुन् । 

‘चिनियाँ विशेषता सहितको समाजवाद निर्माणमा चीनले हासिल गरेको प्रगति अभूतपूर्व छ,’ ओलीले भनेका छन्, ‘चीनको प्रगति, गरिबी निवारणका लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता बधाईको हकदार छन्।’

आगामी दशकसम्म चीन विश्वको प्रमुख अर्थतन्त्र बन्ने प्रक्षेपणलाई उठान गर्दै चीनले विकासशील राष्ट्रप्रति ऐक्यवद्धता र सहयोगलाई अघि बढाउँदै महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई)मा १५० देशलाई एकताबद्ध गरेको ओलीले जनाएका छन् । 

यसको ठिक विपरित अमेरिकाको आलोचना गर्दै ओलीले आतंकवाद नियन्त्रणको वहाना बनाएर राज्य कब्जा र हस्तक्षेपको उपाय सर्वथा गलत भनेका छन् । अमेरिका र पश्चिमा राष्ट्रको नाम नलिई ‘कतिपय शक्ति राष्ट्रले भने चीनको शान्तिपूर्ण उदयलाई सहज रूपमा नलिने, उसको भूमिका र चासोलाई बेवास्ता गर्ने र तनाव बढाउने काममा संलग्न भएको’ भन्दै आलोचना गरेका छन् । 
 
ओलीले अफगानिस्तानबाट अमेरिका फिर्ता हुनुलाई भियतनाम युद्धको ४६ वर्षपछि अमेरिकाले भोग्नुपरेको ठूलो असफलताका रुपमा ब्याख्या गरेका छन् । यसले कुनै पनि वहानामा गरिएको बाह्य हस्तक्षेप र आक्रमण गलत भएको र त्यो असफल हुनु अनिवार्यजस्तै भएको जिकिर गरिएको छ।


भारतले नेपालसँगको खुला सीमाको लाभ अपराधी र आतंककारीले नउठाउन भन्ने चाहेको भन्दै भारतीय चासोबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। कुनै समय संसदमै ‘सिंहमेव जयते कि सत्यमेव जयते’ भनेर म भारतलाई सोध्छु,’ भन्ने अभिव्यक्ति दिएका ओलीले भारतसँगको सीमा विवादका सम्बन्धमा नरम ढङ्गले राजनीतिक प्रतिवेदनमा समावेश गरेका छन् । ‘लिम्पियाधुरा, कालापानी, सुस्ता क्षेत्रका नेपाली भूभाग फिर्ता होऊन्, सीमाको व्यवस्थापन् होस् । जलस्रोतको बहुपक्षीय उपयोगका सम्बन्धमा गलत सोच र व्यवहार हटून्,’ ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन् । 

अघिल्लो पटक प्रधानमन्त्री वन्दा भारतप्रति उग्र देखिएका ओली दोस्रो कार्यकालको अन्त्यतिरबाट भने भारतसँग नजिएका थिए । फलस्वरूप उनको राजनीतिक प्रतिवेदन भारतप्रति निकै नरम देखिएको छ । अधिवेशनमा झण्डै ६ हजार महाधिवेशन प्रतिनिधि उपस्थित छन् । 

विधान महाधिवेशन

विशेष