News विदेश

उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकालाई तनाव

उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकालाई तनाव

उत्तर कोरियाका नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको हनोइ सम्मेलन परिमाणमुखी हुन नसकेको परिणाम लगातार देखिदै आएको छ। उक्त सम्मेलनपछि उत्तर कोरियाले दुई वर्षदेखि आफ्नो सैन्य क्षमतामा थप सुधार गर्दै आएको छ ।

राष्ट्रसंघीय प्रतिबन्ध अनुसार उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर पछिल्लो समय पनडुब्बीबाट हान्न मिल्ने, आणविक र तीव्र गतिका हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले विश्वलाई नै चुनौती दिदै आएको छ।

पछिल्लो पटक उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका, बेलायत र फ्रान्सले त्यसको विरोध गरेका छन् । 

राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकपूर्व बेलायत, फ्रान्स र अमेरिकाका राजदूतले नयाँ खाले क्षेप्यास्त्र परीक्षण उक्साहटपूर्ण भनेका छन् । त्यस्तै आयरल्याण्डकी राजदूत गेराल्डिन बायर्न नेसनले समेत उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषद्विपरीत भएको बताएकी छन् 

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम अगाडि बढाएकोमा अमेरिकासहितका पश्चिमा मुलुक आक्रोशित बनेका छन् । राष्ट्रसंघका लागि अमेरिका, बेलायत, आयरल्याण्ड र फ्रान्सका राजदूतको पछिल्लो टिप्पणीले समेत यही पुष्टि गर्छ ।

तर, उत्तर कोरियाले भने आफ्नो सुरक्षाका लागि अपरिहार्य भएको भन्दै क्षेप्यास्त्र परीक्षणको बचाउ गर्दै आएको छ । कोरियाली प्रायद्धीपमा चर्कदो तनावका लागि अमेरिका दोषी रहेको ऊसको भनाइ छ ।

मंगलबार उत्तर कोरियाले हतियार परीक्षणको आलोचना गरेर अमेरिकाले दोहोरो चरित्र देखाएको बताएको थियो ।
 

विशेष