News राजनीति

ओलीलाई रावलको जवाफ– १० वुँदे ‘एकतारे’ होईन, ११ तारे विगुल हो

ओलीलाई रावलको जवाफ– १० वुँदे ‘एकतारे’ होईन, ११ तारे विगुल हो

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ फर्काएका छन् । 

पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिलाई ओलीले एकतारेको संज्ञा दिएपछि रावलले त्यसको जवाफ फर्काएका हुन । उनले १० वुँदे सहमति एकतारे नभएर ११ तारे विगुल भएको वताउँदै यसको धुन संस्थागत भईसकेकाले ठण्डा दिमागले सोच्न आग्रह गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।’

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा ओलीले अब १० बुँदे भनिरहनुको अर्थ नभएको बताएका थिए । उनले भनेका थिए– ‘१० बुँदेको केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन । एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने ट्याङट्याङ ?’

माधव नेपाल फर्केर आउलान् भनेर १० बुँदे सहमति गरिए पनि उनी अर्कै पार्टी बनाएर गएपछि त्यसको औचित्य नरहेको ओलीको आशय थियो । ‘अब के १० बुँदे, १० बुँदे ? हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला । फर्केर आउने काम गर्ने सिद्धियो त ! माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएका पनि फर्क भनिरहेका छौं त,’ उनले भने ।

ओलीले पार्टीमा फर्किनेलाई योग्यताअनुसार जिम्मेवारी दिने बताएका थिए । 

१० बुँदेमा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने उल्लेख छ । उक्त सहमतिअनुसार सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी रावलले पाउनुपर्ने हो । तर १० बुँदे सहमतिपछि पनि सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई दिइएको छ । उक्त विषयमा रावलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

विधान महाधिवेशनपछि एमालेको स्थायी कमिटी बैठक बिहीबार ३ बजे बस्दै छ । बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनलगायत एजेन्डा छन् । 
 

नेकपा एमाले भिम रावल केपी शर्मा ओली एकतारे १० वुँदे

विशेष