बझाङ बाढी पहिरो पिडितलाई सहयोग गर्न जुट्यो उद्योग वाणिज्य संघ, एक लाखबढी सहयोग

बझाङमा बाढी पहिरोको प्रकोपका कारण घरबार विहिन भएका नागरिकहरुलाई बझाङ उद्योग बाणिज्य संघले एकलाख भन्दाबढीको राहत सामाग्रि वितरण गरेको छ । थलारा गाउँपालिकाको डिख्ला पहिरो प्रभावित क्षेत्र र जयपृथ्वी नगरपालिकाको डुंग्री पहिरो प्रभावित क्षेत्रको लागि उधोग वाणिज्य संघले एक लाख १३ हजार बराबरको राहत सामाग्रि वितरण गरेको हो ।
बिहीबार उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले स्थानिय तहमार्फत पहिरो पिडितलाई राहत सामाग्रि हस्तान्तरण गरेको बताए । बझाङ उद्योग बाणिज्य संघले जयपृथ्वी नगरपालिकाको डुंग्री गाउँको लागि १८ थान पाल वितरण गरेको थियो भने थलारा गाउँपालिका ४ को डिक्ला पहिरो पिडितका लागि ८३ हजार बराबरको लुगा कपडा वितरण गरेको थियो ।
असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको लगातार वर्षाका कारण आएको बाढी पहिरोले बझागंमा ठुलोमात्रामा जनधनको क्षति भएको छ । जिल्लाको थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका लगाएतको क्षेत्र बाढी पहिरोका कारण बढी प्रभावित भएको थियो ।
पहिरोमा परी थलारा गाउँपालिका–४ डिक्लामा २३ जना र खप्तडछान्नाका पिठातोलामा २ जनासहित २५ जना वेपत्ता भएका थिए । खप्तड छान्नाको अलग अलग ठाउँमा चारजनाले ज्यान गुमाएका थिए । बेपत्ता भएका नागरिकको खोजि कार्य भैइरहेको छ ।
लगातारको वर्षाका कारण बझाङमा अकल्पनिय जनधनको क्षति भएको हुँदा आफ्नो संस्थाले सहयोगको हात अगाडि बढाएको उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले जनाए । उनि भन्छन्, ‘बाढी पहिरोका कारण अकल्पनिय रुपमा मानविय र भौतिक क्षति भएको छ । यो प्रकोपका कारण ज्यान गुमाएकाहरुमा भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दछु । परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् । मेरो संस्थाबाट यो दुखद परिस्थितिमा थोरै भएपनि सहयोग गर्ने प्रयास गरेको छु । यति बेला सबैले सक्ने सहयोग गर्नुपर्छ ।’
सहयोग बझाङ बाढी पहिरो