सरुवा मिलाई दिन्छु भन्दै यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध उजुरी
‘हजुर र म भोली सेक्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध यौनहिंसाको उजुरी परेको छ । ‘भोली सेक्स गर्नी है’ भन्दै यौन प्रस्ताव राख्ने यौन पिपासु शिक्षक नेता अब भने कानुनी दायरामा आउने भएकाछन् । यौन प्रस्ताव राख्ने शिक्षक नेताविरुद्ध यौन हिंसाको उजुरी परेसँगै उनको ‘भोली सेक्स गर्ने’ सेक्स-व्रतपनि तुसारापात भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौन प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध शुक्रबार पिडित शिक्षिकाले केन्द्रिय साइबर व्युरोमा यौनहिंसा सम्बन्धि उजुरी दिएकीछन् ।
महिला शिक्षकलाई सरुवा मिलाई दिन्छु भनेर यौन प्रस्ताव राखेको आरोप लागेका व्यक्ति तनहुँ व्यास नगरपालिका २ को बाल मन्दिर माबीका शिक्षक पदम खनाल हुन् । खनाल नेपाल शिक्षक संघको तनहुँ जिल्ला सचिव समेत हुन् ।
तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने दलालहरु सक्रिय भएको बारेमा विगतमा समाचार प्रकाशित भएकाथिए । स्थानीय जनप्रतिनिधि र शिक्षक नेता भनिएकाहरु नै दलाल भएर आर्थिक लेनदेनमा शिक्षक सरुवा तथा नयाँ नियुक्तिको चाँजोपाँजो मिलाउनमा सक्रिय भएको सार्वजनिक भएको थियो ।
जानकारी अनुसार दलालहरुले मावि तहको सरुवा प्रक्रिया मिलाए चार लाख, निमाविको तिन लाख र प्राविको दुई लाख बुझ्ने गरेका भनिएको थियो । सरुवा मिलाई दिने भन्दै महिला शिक्षकलाई यौन प्रस्ताव राख्नेसमेत भनिएको थियो ।
यसैबिच नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनालले सरुवा मिलाईदिन्छु भनेर ‘हजुर र म भोली सेक्स गर्नी है’ लेखेको म्यासेज सार्वजनिक भएपछि विगतमा आर्थिक चलखेल तथा अनैतिक यौन क्रियाकलापका आधारमा शिक्षक सरुवा हुने गरेको तथ्य समेत पुष्टि भएको छ ।
शिक्षक सरुवा तथा नियुक्ति प्रक्रियामा आर्थिक चलखेल पुष्टि हुने थप आधार तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले समेत उजागर गरेकाछन । असोज २० गते सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै इकाइ प्रमुख शर्माले लेखेका छन् ‘एक दुई हप्ता पहिला तनहुँबाट सरुवा हुने मावि शिक्षकले चार लाख बुुझाउनु पर्यो भन्दै गुनासो गर्नु भयो । आज अर्को जिल्लामा एक जना प्रावि शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो भन्दा डेढ लाखमा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि भन्दा पालिकालाई पचास हजार, समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार । शिक्षा दिनेहरुका नेताहरुले नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ।’
शिक्षा इकाइ प्रमुख शर्माले आर्थिक चलखेलका आधारमा शिक्षक सरुवा हुनेगरेको बारे उजागर गरेको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल शिक्षक संघ तनहुँले कात्तिक २ गते प्रेस विज्ञप्ति जारी गरेको थियो । जसमा भनिएको छ, ‘शिक्षकहरुको सरुवामा कुनै आर्थिक लेनदेन गरेको वा अन्य अवाञ्छित क्रियाकलाप गरेको भए सो को प्रमाणहरु नेपाल शिक्षक संघमा पेश गर्नहुन ध्यानाकर्षण गरिन्छ । अन्यथा कोही कसैलाई अनावश्यक लाल्छना लगाइएको हो भने नेपाल शिक्षक संघ त्यस्ता समाचारको घोर भत्र्सना गर्दछ ।’
नेपाल शिक्षक संघ तनहुँले विज्ञप्ति जारी गरेको ३ दिन नबित्दै सचिव पदम खनाल विरुद्ध उजुरी परेको छ । विज्ञप्ति मार्फत शिक्षकहरुको सरुवामा कुनै आर्थिक लेनदेन गरेको वा अन्य अवाञ्छित क्रियाकलाप गरेको भए सो को प्रमाणहरु नेपाल शिक्षक संघमा पेश गर्नहुन ध्यानाकर्षण गराउने नेपाल शिक्षक संघ तनहुँले सचिव खनालमाथि लागेको यौनहिंसाको आरोपमा कस्तो कारबाही अगाडि बढाउँछ भन्नेबारेमा सरोकारवाहरुको ध्यानाकर्षण भएको छ ।
कात्तिक २ गते नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेल र यौनहिंसा आरोपित सचिव पदम खनाले प्रमाण पेश गरियोस् भनेर विज्ञप्ति निकालेका थिए । यसबारेमा आरोपित खनाललाई बुझ्न खोज्दा फोन उठाएनन् ।