News

कुलमानको नाटकै बढी : खेर गएको बिजुली बेच्न सकेनन् 

कुलमानको नाटकै बढी : खेर गएको बिजुली बेच्न सकेनन् 

०७५ वैशाखमा नेपाल लोडसेडिङ मुक्त देश भयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोलामा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको,  संरचनागत सुधार र अपुग विद्युत भारतबाट आयात गरेकाले १५ वर्षपछि लोडसेडिङ अन्त्य भएको वताए ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका नेपाली जनताले लोडसेडिङ मुक्त घोषणा भएपछि घिसिङको जयजयकार गरे। कतिपयले त घिसिङलाई देवताकै रुपमा प्रस्तुत गर्ने प्रयास समेत गरे । अपार जनसमर्थन पाएका घिसिङ पनि त्यसको जस लिन पछि परेनन् । उनको यही जस लिने होडवाजीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको वैमनस्यता सुरु भयो। 

ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई भारतसँग विद्युत खरिदको सम्झौता गरेर आफुले गरेको बताउँथे भने कुलमान घुमाउरो पारामा केपी ओली केही होईनन्, आफु लगायतका कर्मचारीले काम गरेर लोडसेडिङ हटाएको भन्थे ।

हुँदाहुँदा घिसिङले एक कदम अगाडि वढेर अन्तर्वार्तामै लोडसेडिङको अन्त्य आफुहरुले गरेको वताई दिए । पत्रकार नारायण पौडेलसँगको अन्तरबार्तामा ‘लोडसेडिङको अन्त्य ओलीको आइडिया हो ?’ भन्ने प्रश्नको जवाफमा कुलमानले भनेका थिए–‘लोडसेडिङ्ग अन्त्यको स्वामित्व सबै जनताले लिनु, सबै नेताले लिनु राम्रो कुरा हो। मलाई खुसि लाग्छ कि सबैको सहयोग भएको हो। तर, काम त हामीले गरेको हो । उहाँको आइडिया के थियो, कसरी लोडसेडिङ्ग अन्त्य गर्ने थियो हामीले सोध्ने कुरा भएन। अहिले आएर हामीले काम गर्यौ, त्यसैले लोडसेडिङ अन्त्य भयो।’

उनको यो अभिब्यक्तिपछि ओली क्रुद्ध भए । त्यसैले चार वर्षको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकालका लागि प्राधिकरणमा दोहोरिने घिसिङको योजना ओलीले असफल वनाई दिए । अन्तत २८ भदौ ०७७ मा कार्यकाल सकेर घिसिङ प्राधिकरणवाट विदा भए भने सरकारले २७ माघ ०७७ मा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्यो । 

तर, यसै विचमा सर्वोच्च अदालतले परमादेश जारी गरी ओलीलाई सत्ताच्युत गर्यो । परमादेशपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जसपालगायतका दलको गठवन्धन सरकार चलिरहेको छ। कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र उर्जा मन्त्री पम्फा भुसालको जोडवलमा पुनः कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक वनाईएको छ।

तत्कालिन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गर्दै सरकारले २५ साउन ०७८ मा घिसिङलाई प्राधिकरणको जिम्मेवारी सुम्पेको हो। तर, घिसिङ प्राधिकरणमा आएपछि विद्युत आपुर्तीमा जुन खालको सुधारको अपेक्षा आमजनताले गरेका थिए, त्यो अपेक्षा घिसिङले पुरा गर्न सकेका छैनन् ।

तर, त्यसको अपजस भने घिसिङ्गले तिनै ६ महिने निर्देशक शाक्यमाथि थुपार्न थालेका छन् । कात्तिक ५ गते नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताए। उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए ।

यस्तो अप्ठेरो अवस्थाको अनुमान भएर पनि विगत एक वर्षमा पर्याप्त काम नगर्दा समस्याको अवस्था आएको वताएका उनले ‘दैनिक ४–५ सय मेगावाट बिजुली अहिले ‘स्पिल’ (खेर) भइरहेको छ। हामीले यो अवस्थाको आकलन गरेर एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो, तर, त्यो नगर्दा अहिले अप्ठेरो अवस्था अएको अनुभव मलाइ भएको छ’ भने। 

विद्युतको खपत बढाउन प्रसारणलाइन सदृढीकरणको काम भइरहेपनि विभिन्न किसिमबाट भएको अवरोधले समस्या भएको घिसिङको गुनासो छ । कतै स्थानीयको अवरोध रहेको र कतै अदालतको आदेशका कारण काम रोकिँदा समस्या भएको भन्दै उनले छिट्टै समाधानको लागि प्रयत्न भइरहेको बताएका छन् ।

घिसिङ्गले एक वर्ष अघि देखि नै काम गर्न नसकेको भनेर अरुलाई अपजस त दिए, तर त्यो अवधिमा पनि उनी नै प्राधिकरणको कार्यकारी निर्देशक थिए । यदि उनकै कुरा मान्ने हो भने प्रश्न उठ्छ– यति वुझेका घिसिङ्गले त्यतिवेला किन काम गरेनन ?

भारतबाट बिजुली आएर लोडसेडिङको अन्त्य 
कुलमानले लोडसेडिङ्गको अन्त्य आफुले गरेको दावी गरेपनि त्यसको मुख्य कारक भने भारतबाट आयात भएको बिजुली नै हो । नेपालले भारतबाट करिब ४०० मेगावाट बिजुली आयात गरेको थियो । 

मुजफरपूर– ढल्केबर प्रशारण लाइन हालसम्म नेपालले ३२० मेघावाट बिजुली चार मुख्य ट्रान्समिसन लाइनमार्फत भारतबाट आयात गरेको छ । सन् २०१६ फेव्रुअरीमा नेपाल र भारतका प्रधानमन्त्रीले पहिलो सार्वधिक विद्युतीय क्षमता भएको ४०० केभी सीमापार प्रशारण लाइनको उद्घाटन गरेका थिए । सुरुमा यो १३२ केभीमात्र सुचारु थियो । मुजफारपूरदेखि नेपालको ढल्केबारसम्मको ४०० केभीको नेपालतर्फको प्रशारण लाइन नेपाल सरकारले भारत सरकारको अमेरिकी डलर १३ दशमलव ५ मिलियन डलर सहुलियत ऋण सहयोगमा कार्यन्वयनमा आएको हो । 

सन् २०१७ जनावरी १ मा भारतले ढल्केबरदेखि मुजफरपूरमा थप ८० मेघावाट बिजुली आपूर्ति गर्ने सहमति गरेको थियो । यो सहित नेपालमा भारतबाट आपूर्ति भएको कुल बिजुली ४०० मेघावाट भएको छ ।

कुलमान घिसिङ्गको भनाई मान्ने हो भने अहिले दैनिक करिव ४ सय ÷ ५ सय मेघावाट विजुली स्पिल (खेर) भईरहेको छ। उनले यसलाई दुखद भएपनि आत्तिनु पर्ने स्थिती भने नभएको वताएका छन् । उनको यो अवस्थालाई जानकारहरुले भने लाचारीको अवस्था भनेका छन् ।

भारतवाट आयात भएको विजुलीलाई आफनो पुरुसार्थ सम्झेर देश लोडसेडिङमुक्त भएको घोषणा गर्ने कुलामान अहिले भारतमा विजुली निर्यात गर्ने कुरामा भने किन लाचार छन् भन्दै प्रश्न उठ्न थालेको छ। 

यो पनि

कुलमान भन्थे ‘ओली आइडियाले होईन, हाम्रो ब्रेनले लोडसेडिङ्ग मुक्त’

कुलमानले राम्रो गरेका छन् तर देवत्वकरण गर्न जरुरी छैन (भिडियोसहित)

लोडसेडिङ अन्त्य हुनुमा आयातित बिजुली पनि कारक हो

केपी शर्मा ओली कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण

विशेष