News विदेश

अमेरिकाप्रति टर्कीका राष्ट्रपति क्रुद्ध, राजदूतलाई देश निकाला गर्न आदेश

अमेरिकाप्रति टर्कीका राष्ट्रपति क्रुद्ध, राजदूतलाई देश निकाला गर्न आदेश

टर्कीको जेलमा थुनामा रहेका एक नागरिक अगुवालाई थुनामुक्त गर्न दवाद दिने उदेश्यले संयुक्त विज्ञप्ति निकालेका अमेरिकासहित १० देशका राजदुतलाई देश निकाला गर्ने निर्णय भएको छ। टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले ती १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका हुन् ।

थुनामा रहेका नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै उनीहरुले संयुक्त विज्ञप्ति निकालेका थिए । अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिईएको जनाईएको छ।

गत सोमबार ती मुलुकका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई रिहा गर्न अपिल गरेका थिए । पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ ।

बिरलै जारी गरिने संयुक्त विज्ञप्तिमा काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख गरिएको थियो । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै सम्बन्धित मुलुकका राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो ।

‘मैले हाम्रा विदेशमन्त्रीलाई यी १० राजदूत अस्वीकार्य भएको (परसोना नन ग्राटा) घोषणा गर्न भनेको छु’, एर्दोगनलाई उदृत गर्दै अलजजिराले लेखेका छन–‘उनीहरूले टर्कीलाई बुझ्नुपर्छ, टर्कीलाई नचिनेको दिनदेखि नै हाम्रो मुलुक छोड्नुपर्छ ।’

‘परसोना नन ग्राटा’ कुनै राजदूतलाई देश निकाला गर्नुपूर्व चालिने पहिलो कदम हो । राष्ट्रपति एर्दोगनले देश छोड्ने मिति भने तोकेका छैनन् ।
 

टर्की अमेरिका राजदुतलाई देश निकाला

विशेष