News अपराध सुरक्षा

सिके राउत र तास काण्डले धनुषा र सर्लाहीका एसपी तानिए

सिके राउत र तास काण्डले धनुषा र सर्लाहीका एसपी तानिए

प्रदेश २ को धनुषा र सर्लाहीका प्रहरी प्रमुखको काज सरुवा भएको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने भएका छन् । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाइँ प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थिए ।

०७७ भदौ ४ गते सर्लाही प्रहरी प्रमुख बनेर खटिएका राठौर सार्वजनिक स्थानमै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित तास खेलेको प्रकरणमा हेडक्वार्टर तानिएका हुन। आफ्नो पदीय दायित्व भुलेर सर्लाहीका प्रजिअ महतो, प्रहरी प्रमुख एसपी राठौर र सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत सुरक्षा अधिकारीले सार्वजनिकस्थलमै तास खेलिरहेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो। 

प्रहरी महानिरीक्षक शैलेश थापाले राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर उनको स्थानमा एसपी कृष्ण प्रसाईलाई पठाउने निर्णय लिएका छन्। 

यसैगरी, जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हिलो दलेर बजार घुमाउँदा पनि सुरक्षा दिन नसकेको भन्दै रानाभाटलाई केन्द्रमा तानिएकोहो। 

रानाभाटमाथि खानेपानीका निमित्त कार्यालय प्रमुखलाई हिलो लगाएर दुर्व्यवहार गर्दै बजार घुमाउँदा पनि थाहा नपाएको र जिल्लाको सुरक्षामा लापरबाही गरेको आरोप प्रहरी प्रधान कार्यालयले लगाएको छ।

सन्तोष सिंह राठौर प्रकाश रानाभाट

विशेष