News

प्रधानन्यायाधीश विरुद्ध गोविन्द केसीः राजिनामा नदिए आन्दोलन गर्ने

प्रधानन्यायाधीश विरुद्ध गोविन्द केसीः राजिनामा नदिए आन्दोलन गर्ने

डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामा न्यायिक विचलन आएको ठहर गर्दै तत्काल राजीनामा दिन माग गरेका छन्। राणाले राजीनामा नदिए अहिंसात्मक आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन्।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भै न्यायिक नैतिकताबाट च्युत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं, केसीले भनेका छन्–‘उहाँको पदिय हैसियतको अवज्ञा गर्न सरोकारवाला सवैमा अपिल गर्छौं । तत्काल राजिनामा नदिएमा उहाँको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।’

यसैगरी, सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने बताएको छ ।  सोमबार सल्लाहकार समितिसँगको छलफलपछि विज्ञप्ति निकालेर सर्वोच्च बारले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

बैठकले प्रधानन्यायाधीशकै कारण न्यायिक प्रक्रियानै ठप्प हुने अवस्था आएको भन्दै  समुचित निकास दिन आग्रह गरेको हो ।

‘प्रधानन्यायाधीशमाथि लागेका आरोपले न्यायपालिकालाई गम्भीर क्षति पुग्ने भएकाले न्यायपालिका सुधारका लागि उहाँले राजीनामा दिनुपर्ने आजको बैठकले निश्कर्ष निकालेको छ’ वारले भनेको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दा उहाँले राजीनामा नदिएपछि के गर्ने भन्ने बारेमा योजना बनाउन पनि भोलिका लागि छलफल डाकिएको जनाईएको छ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्व न्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने बताएको थियो।

सरकारमा भागवण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका जबराले सोमबार बोलाएको सर्वोच्चको पूर्ण बैठक तथा मुद्दाको सुनुवाइ अरु न्यायाधीशले बहिस्कार गरेका छन्।
 

गोविन्द केसी चोलेन्द्र शमशेर राणा

विशेष