उइगरले गरेको आत्मघाती विस्फोटपछि अफगानिस्तानमा चिनियाँ लगानीको योजना प्रभावित
काबुल- अफगानिस्तानमा पछिल्लो समय भएको विस्फोटमा एक उइगर व्यक्ति संलग्न भएको पाइएको छ। अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको आत्मघाती विस्फोट एक उइगर मुस्लिमले गराएको खुलेको हो।
उक्त कुराले चिनियाँ राष्ट्रिय सुरक्षाको शीर्ष नेतृत्व त्रसित बनेको छ। अफगानिस्तानमा लगानी गर्ने सोच बनाइरहेको चीनलाई यस घटनाले ठूलो धक्का लागेको छ।
उक्त विस्फोटपछि चिनियाँ लगानीकर्ताहरुले अफगानिस्तानमा सत्ता सम्हालिरहेको तालिबान सरकारलाई प्रतिबद्धताको मूल्य के हुने भन्ने प्रश्न गरिरहेका छन्।
तालिबानलाई आफ्नो अधिकारको लडाइँ लडिरहेका उइगरहरुलाई रोक्न चीनले निर्देशनसमेत दिएको छ। उक्त घटनाको जिम्मेवारी आईएसआईएस-के ले लिएको थियो।
अफगानिस्तानको एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा १६ जना मारिएका थिए भने ३२ जना घाइते छन्। सिया मस्जिदलाई लक्षित गरी गत शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको हो।
गत शुक्रबार पनि कुन्दुज सहरस्थित अर्को एक सिया मस्जिदमा बम विस्फोट गरिँदा २० जना मारिनुका साथै ९० घाइते भएका थिए। अफगानिस्तानमा तालिबान सरकार गठनपछि आईएसआईएलका लडाकूले आक्रमण तिब्र पारेका छन्।