फिदिम बस दुर्घटनाः ४ जनाको मृत्यु, १६ घाइतेलाई हेलिकप्टरवाट उद्वार
पाँचथरको फिदिम–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ।
दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात महिने छोरा निश्चलको फिदिमस्थित समर्पित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा ६१ यात्रु घाइते भएका छन्। घाइते भएका एक दर्जन बढीलाई साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।
एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले साँझ उद्धार गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए। नेपाली सेनाको एम–१७ हेलिकोप्टरले १६ विरामी र तिनका तीन जना कुरुवा समेतलाई फिदिमबाट धरान पु¥याएको हो।
दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पु¥याइएको प्रजिअ ढकालले बताए। फिदिममा विभिन्न स्वास्थ्य संस्थामा १७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ।
फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डे सडकबाट करीब २० मिटर तल झरेको थियो।