News अपराध सुरक्षा

चूडामणि उप्रेती (गोरे) लाई जन्मकैद माथि थप १० वर्ष कैद

चूडामणि उप्रेती (गोरे) लाई जन्मकैद माथि थप १० वर्ष कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष कैद सजाय भएको छ।

जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरिवाना तोकेको हो । इजलासले त्यसका साथै मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ ।

यसअघि लम्सालकै इजलासले सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकलाई तीन वर्ष र एक जनालाई ६ महिना कैद सजाय तोकेर बाँकी प्रतिवादीलाई सफाइ दिएको थियो ।

असोज १९ गतेको इजलासले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको थियो । बाँकी ५६ जनालाई सफाइ दिँदै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तबीमा राखिएको थियो ।

इजलासले उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र सजाय तोकिएको थियो । अदालतले गोरेका हकमा सोमबार थप फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । 

घटनाका मुख्य आरोपी उप्रेतीसहित ७७ जनालाई प्रतिवादी बनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो ।


मुद्दाका प्रतिवादीमध्ये सुरेन्द्र गौतम, रुस्तम मियाँ, रोहित आचार्य, टुकबहादुर मगर, मरिन तामाङ, मोहनकुमार अग्रवाल, सुनीलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, कमल कार्की, मणिराज चौलागाईं, शिवकुमार गुवाजू, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, माधव आचार्य, अभिप्रकाश नेवार, रक्षा भण्डारी र सन्दीप खड्का फरार रहेको अदालतले जनाएको छ ।

यो पनि
३३ किलो सुन तस्करी प्रकरणमा गोरे र एसएसपी लोहनीसहित सवैलाई सफाई

३३ किलो सुनकाण्ड एसपी दिवेश लोहनी चुणामणी उप्रती (गोरे)

विशेष