News

अफ्गानी नागरिकको ‘सेल्टर’ वन्दै काठमाण्डौं, वढ्यो सुरक्षा खतरा !

अफ्गानी नागरिकको ‘सेल्टर’ वन्दै काठमाण्डौं, वढ्यो सुरक्षा खतरा !

अफ्गानिस्तान लगायत द्वन्द्वग्रस्त मुलुकका नागरिक गैरकानुनी रुपमा नेपाल प्रवेश गरी शरणार्थीका रुपमा वस्न थालेको पाईएको छ। 

पछिल्लो पटक अफगान नागरिक बिनाकागजात सजिलै नेपाल पसेर काठमाडौं आइपुगेको भेटिएपछि यो तथ्य सार्वजनिक भएको हो । भारतको सुनौली हुँदै रूपन्देहीको बेलहिया नाकाबाट पसेका ११ अफगान नागरिक काठमाडौं सहजै आएको खुलेको छ। उनीहरूमध्ये ६ जनासँग भारतीय आधारकार्ड छ ।

योसँगै अफ्गान नागरिकसहित, म्यान्मार (बर्मेली) रोहिंग्या नागरिक आफ्नो देश छोडेर भारतको बाटो हुँदै नेपाल प्रवेश गरिरहेका छन । तर, त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालय र त्यस मातहतका सुरक्षा संयन्त्र चुकेका छन ।

सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण एवं विदेशी नागरिक नियमनका लागि तैनाथ संयन्त्रको लापरबाहीले द्वन्द्वग्रस्त मुलुकका नागरिक धमाधम नेपाल छिर्न थालेको जानकारहरु वताउँछन।

स्रोतका अनुसार भारतबाट दक्षिणी सीमानाका हुँदै भित्रिएका बिनाकागजातका विदेशी नागरिक काठमाडौं आएर ‘शरणार्थी’ बनेर बसिरहेका छन् । 

विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेसँगै ‘शरणार्थी’ बनेर अफगान नागरिक समूहगत रूपमा नेपाल भित्रिन थालेपछि सरकारले सीमा बिन्दुमै तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन बल्ल सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग (राअवि) र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ‘आन्तरिक परिपत्र’ गरी विदेशी नागरिकमाथि निगरानी बढाउन र भारतबाट भित्रिने सबैसँग सीमा बिन्दुमै सोधपुछ गर्न र परिचयपत्र हेर्न निर्देशन दिएको हो ।

यसअघि बर्मेली रोहिंग्या शरणार्थीलाई समेत मानव तस्करले झापाको काँकडभिट्टा र मोरङको रानीलगायत नाका हुँदै भित्र्याएर समूहगत रूपमा काठमाडौं ल्याएको थियो । त्यसपछि भदौ २ मा गृहले बर्मेली रोहिंग्या र अफगानिस्तानमा तालिबानी सत्तामा आएपछि त्यहाँका नागरिकसमेत भित्रिन सक्ने जोखिमलाई गम्भीर रूपमा लिएर नाकामा कडाइ गर्न निर्देशन दिएको थियो ।

तर, उक्त निर्देशन प्रभावकारी भएन । यसैविच गृहमन्त्रालयले एउटा सुचना जारी गरेर परिचयपत्रबिनाका कसैलाई पनि घर÷कोठा÷अपार्टमेन्ट भाडामा नदिन घरधनीहरूलाई आग्रह गरेको छ । ११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौंमा ‘शरणार्थी’ बनेर लुकीछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठाभाडामा लगाउँदा अनिवार्य रूपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रूपमै अपिल गरेको हो । परिचयपत्रबिनाका कसैलाई पनि काममा नलगाउन पनि गृहले आग्रह गरेको छ ।
 

अफ्गानिस्तान रोहिंग्या अफगान नागरिक द्वन्द्वग्रस्त मुलुक

विशेष