News राजनीति

प्रचण्डको अभिब्यक्तिमा उतार–चढावः कहिले उत्तेचजना, कहिले चरम निरासा

प्रचण्डको अभिब्यक्तिमा उतार–चढावः कहिले उत्तेचजना, कहिले चरम निरासा

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न विवाद र विभाजनसँगै शिर्ष नेताहरुको झगाडा चरम उत्कर्षमा छ । विशेषतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को दन्तवझान वढ्दै गएको छ।

दुवै नेता एक अर्कालाई सिद्याउने भन्दै अघि वढेका छन् । सार्वजनिक समारोहमा दुवै नेताको भाषण एकअर्का प्रतिको गालिवाट सुरु हुन्छ र गालिमै अन्त्य हुन्छ। अध्यक्ष ओली प्रचण्ड र एमालेवाट फुटेर नेकपा एकिकृत समाजवादी दर्ता गरेका अध्यक्ष माधवकुमार नेपालप्रति सदावहार रुपमा चर्को भाषण गर्छन। 

तर, प्रचण्डको भाषमा भने पछिल्लो पटक कहिले चरम उत्तेजना र कहिले चरम निरासा देखिन थालेको छ। असोज ७ गते काभ्रेमा आयोजित एक कार्यक्रममा ओलीमाथि चर्को गालीगलौज गरे। राजनीतिक शब्दकोषमा भेटिने–नभेटिने सबैखाले शब्दावलीको प्रयोग गरेका प्रचण्डले ओलीलाई हरुवा र भगौडा समेत भनिदिए । अधिकांस समय ओलीलाई गाली र वाँचेको समय ‘आत्मप्रशंसा’ गरेका उनले भने–‘केपी राष्ट्रिय आत्मसमर्पणवादी, तानाशाही, प्रतिक्रान्तिकारी, फासिस्ट प्रवृत्तिको प्रतिनिधि हो । साथै उनी चरम दक्षिणपन्थि, सामन्ति, अति हिन्दूवादी हुन् । उनी वरिपरी कसरी विदेशी शक्ति केन्द्रित हुँदा रहेछन् भन्ने मैले सबैभन्दा नजिकबाट देखेँ ।’

उनले तत्कालीन नेकपा फुटेको नभइ आफूहरुले ओलीमाथि विजय प्राप्त गरेको दावी पनि गरे। ‘पार्टी फुटेको भन्छन्, तर त्यसो होइन। हामीले केपी प्रवृत्तिमाथि विजय प्राप्त गरेको हौं, साथीहरु ख्याल गर्नुहोला । केपीजस्तो निरंकुश, अहंकारी, दम्भीलाई पार्टीबाट ७० प्रतिशत केन्द्रीय सदस्य मिलेर निकाल्दिएको हो । तपाईंहरुले यो कुरा गहिरो गरी बुझ्न जरुरी छ’ उनले भने–‘कोहीकोही भन्छन– केपीले जालझेल गरेर फेरिं आउँछ । तर, मैले केपीजति बुद्धि नभएको नेता कोही पनि देखेको छैन । यति ठूलो अवसर थियो उसलाई । चुपो लागेर एकताको बेलामा भएका सहमति र समझदारी पालन गरेको भए नेपालको इतिहासकै महान व्यक्ति बन्ने अवसर थियो । तर गिदीभित्र गोबर भरिएपछि केही लाग्दैन ।’

ओली कुनै हालतमा पनि नसच्चिने र आफ्नै पार्टीभित्रका सहयोद्धामाथि अपमान र षडयन्त्र गर्ने कुरा उदांगो भएपछि आफूले पार्टीमा १९ पेजको प्रतिवेदन प्रस्तुत गरेको प्रचण्डले बताए । ‘मैले केपीलाई मार्क्सवादी होइन, सामन्ति हिन्दू अतिवादी हो भनेर त्यतिबेला नै भनेको हो । पशुपतिमा जलहरी चढाएको त देख्नुभयो । अहिले मेरो चुनाव क्षेत्रमा राम–सीता, हनुमान ल्याएर राखिदेका छन् । मैले गर्ने के ? रामसीतासँग लड्न पनि भएन’ उनले थपे– ‘तपाईंहरुलाई त्यो बेला लाग्यो कि प्रचण्डले गर्न त गर्यो, तर प्रधानमन्त्री त केपी रहिरह्यो नि । तर, मेरो दावी के छ त भने उसलाई हामीले ७० प्रतिशतको दुइतिहाई बहुमतसहित निस्कासन गरेको हो । बडो गम्भीरताका साथ, आत्मविश्वासका साथ, आक्रामक ढंगले गाउँ–गाउँमा गएर भन्नुहोला यो कुरा ।’

‘केपी हरुवा हो, भगौडा हो’ भन्दै उनले कम्युनिष्ट आन्दोलनबाट, मार्क्सवादबाट भागेको आरोप लगाए । ‘हामीले उसको मार्क्सवादविरोधि, समाजवाद विरोधि, राष्ट्रविरोधि चरित्र उदांगो पारेर पार्टी सदस्यबाट निस्कासन गरेका हौं । हामी विजेता हौं, उ हरुवा हो भन्ने कुरा दिमागमा राख्नुहोला ।’

काभ्रेमा यसरी उत्तेजक भाषण गरेका ठिक एक सातापछि शुक्रवार भने प्रचण्डको भाषणमा चरम निरासा देखियो । अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले देश र जनताका लागि काम गर्न खोजेको तर केपी ओलीका कारण नपाएको वताए ।

विगतमा नेपाल कम्युनिष्ट पार्टी रहँदा तत्कालीन पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको लडाइँलाई जिवन–मरणको संज्ञा दिएका उनले त्यस वेला आफु आत्महत्या गर्ने अवस्थामा पुगेर पनि फर्किएको वताए । भगत सिंह र चन्द्रशेखर आजादको उदाहरण दिएका उनले चन्द्रशेखर आजादलाई चारैतर्फवाट प्रतिक्रियावादीले घेरा हालेपछि विकल्प नभए आत्महत्या गरेको स्मरण गरे । प्रतिक्रियावादीले मार्ने नै भए भनेर चन्द्रशेखरले माटो समातेर मैले यति नै सकें आमा भनेर आत्महत्या गरेको उनले सुनाए । ‘मर्ने वेलामा उनले धर्तीको माटो समाएर, मैले सकेको यत्तिनै गरेँ भनेर भनेको याद आउँछ’ भावुक हुँदै र भक्कानिदै उनले भने–‘नेकपामा मेरो पनि अवस्था त्यस्तै भएको थियो। आत्मसमर्पण गर्न त म सक्दैनथे। त्यसैले अन्तिम लडाई लड्ने निर्णय गरेर अघि वढे।’ 

सोही क्रममा उनले सवै आत्महत्या गलत नहुने भन्दै विवादित अभिब्यक्ति पनि दिए । माक्र्सका छोरी ज्वाईले आत्महत्या गरेको प्रसंग उठाउने उनले ‘सवै आत्महत्या गलत हुँदैनन् है’ भन्दै आत्महत्यालाई प्रोत्साहन गर्ने विवादित अभिब्यक्ति दिए । 

प्रचण्डका अभिब्यक्तिमा देखिएको यो उतारचढावलाई कतिपयले सामान्य रुपमा लिएका छन् भने कतिपयले भने पार्टीमा देखिको प्रवृत्ति प्रतिको ‘असन्तुष्टि र निराशा’ भएको बताउँछन्। प्रचण्ड ‘भिडको मनस्थिति हेरेर बोल्न सक्ने’ व्यक्ति भएकाले उनको अभिव्यक्तिमा उत्तेजना र निरासा देखिनु समान्य भएको पनि उनीहरु वताउँछन् ।

प्रचण्डले एउटै कार्यक्रममा कहिले ‘अन्तिम अवस्थासम्म आफै लड्ने, तर उत्तराधिकारी घोषणा नगर्ने’ वताएका थिए भने कहिले राम्रो काम गरेर आउने साथीहरूलाई बाटो छाडिदिने बताए । 

राजनीतिक विश्लेषकहरुले प्रचण्डका पछिल्ला अभिब्यक्तिहरुले अन्धकारको संकेत गर्ने वताउँछन् । ‘नेता भनेको त अन्धकार हुँदा पनि बाटो देखाउने व्यक्ति हो। तर यी अभिव्यक्ति उनी आफै अन्धकारमा भएर आएजस्तो देखिन्छ’ विश्लेषकहरु भन्छन्–‘सबै आत्महत्या गलत होइन’ भनेर दिएको अभिव्यक्ति अझै आलोचित छ।’

असोज ७ मा काभ्रेको कार्यक्रममा माओवादीले ‘बिस्तारै जनता छोड्दै, जनता बिर्सिँदै, शहीद परिवार बिर्सँदै जाने पो हो कि भन्ने चिन्ता भएको’ पनि प्रचण्डले बताएका थिए।

प्रचण्डका धेरै अभिव्यक्ति कार्यकर्ताका खपतका लागि पनि हुने गरेकाले उनको कुरामा धेरै सोचिरहुन पर्ने अवस्था पनि नरहेको कतिपयले वताउँने गरेका छन् ।

पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष