News राजनीति

विवेकशिल साझाको ‘पाण्डे समुह’ नेकपा एसमा प्रवेश गर्ने चर्चाले राजनीतिमा तरंग

विवेकशिल साझाको ‘पाण्डे समुह’ नेकपा एसमा प्रवेश गर्ने चर्चाले राजनीतिमा तरंग

आफुलाई वैकल्पिक शक्तिको दावी गर्दै आएको विवेकशील साझा पार्टी फेरी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ। खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा छ । 

अध्यक्ष मिश्रले केही पहिले संघीयता र धर्मनिरपेक्षबारे जनमत संग्रह गनुपर्ने धारणासहितको प्रस्ताव सार्वजनिक गरेपछि दुई पक्षबीच विवाद चुलिएको छ। संयोजक पाण्डेले मिश्रलाई काउन्टर दिदै उक्त दस्तावेज पार्टीको नभएर मिश्रको व्यक्तिगत भन्दै काउन्टरमा अर्को दस्तावेज सार्वजनिक गरेका थिए ।

त्यसयता विवेकशील साझामा विवाद चर्किँदै गएको छ । यही विवादका कारण बैठक समेत अलग–अलग सम्पन्न भए । 

यसैक्रममा संयोजक पाण्डे समुह माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने चर्चा सुरु भएको छ। एकसाता अघि नेकपा एसका अध्यक्ष नेपाल र पाण्डेको समूहले भेटवार्ता गरेपछि यो कुरा वाहिरिएको हो । विवेकशील साझाका संयोजक पाण्डेलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।

एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग पनि पाण्डेको समूहसँग छलफल गरेका थिए ।

विशेषगरी विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ ।

नेपालसँगको छलफलमा ‘मिलेर अगाडि बढौं’ भन्ने प्रस्ताव आएको र आफुहरुले त्यसलाई सकारात्मक रुपमा लिएको कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारेका छन् । भेटमा नेपालले एकीकृत समाजवादीले वैकल्पिक राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्ने पनि वताएका थिए । 

यतिबेला विवेकशील साझामा आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको उनको भनाइ छ । 

तर, संयोजक पाण्डेले भने एकीकृत समाजवादीमा प्रवेश गर्न कुरा गलत भएको बताए । विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने उनको भनाइ छ । ‘म÷हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ। अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ’ उनले फेसवुकमा लेखको छन्–‘हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौँ। जुन सामान्य कुरा हो।’

केहि दिन अघि एउटा राजावादी पार्टीका नेतासँग भेट भएको र त्यो भेटमा पनि हामी कसरी नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सँगै देशको लागी काम गर्न सकिन्छ भनेर छलफल भएको उल्लेख गरेका उनले ‘कुनै फोटो मिडियामा आउँछ, कुनै आउँदैन’ भन्दै फोटो आएका आधारमा पार्टी प्रवेश गर्न लागेको भन्नु गलत हुने वताएका छन् ।

उनले लेखेका छन्–‘वैकल्पिक राजनीति यति सस्तो र यति कमजोर छैन। विवेकशील आन्दोलनलाई सिद्ध्याउन केहि÷कोही लागेका छन्। सचेत रहौँ है।’

विवेकशिल साझा मिलन पाण्डे

विशेष