प्रचण्डको चुनावी दौडः भन्छन्– चितवन कुरुक्षेत्र हुँदैछ
प्रचण्डको वुझाई– एमालेले आफुलाई लक्षित गरेर महाधिवेशन चितवनमा सार्योे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ‘कुरुक्षेत्र’ हुन लागेको वताएका छन् । विगत ५ दिनदेखि गृहजिल्ला चितवनमा रहेका प्रचण्डले पार्टीको भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको संकेत गरे।
‘चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ’ उनले भने–‘यहाँ ठूलो टक्कर हुँदैछ ।’ बुटवलमा गर्ने भनिएको महाधिवेशनलाई नेकपा एमालले चितवनमा सारेपछि प्रचण्डले त्यसलाई राजनीतिक टक्कर र लडाइँको रुपमा लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको उनको वुझाई छ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले चितवनको माडीमा अयोध्याधाम बनाउने प्रक्रिया र राम–लक्ष्मण, सीता तथा हनुमानको मूर्ति ल्याएर आफूलाई पछाडि पार्न खोजेको उनको आशंका छ।
यति मात्रै होईन, मंगलबार भतरपुर विमानस्थलमा ओर्लने वित्तिकै आफु ‘अन्तिम पटक’ चितवनबाटै चुनाव लड्ने वताएका प्रचण्ड अहिल्यैदेखि तेहेरो मारमा छन् । यसै अर्थमा पनि उनले चितवनलाई कुरुक्षेत्र वन्नलागेको भन्दै टिप्पणी गरेको हुन सक्ने स्थानीय नेताहरु वताउँछन् ।
एक पटक कांग्रेससँग तालमेल गरेर चुनाव जितेका प्रचण्डलाई कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अभिब्यक्तिले पनि तनाव दिएको छ। उनले चितवनबाट प्रचण्ड र रेणु दाहाललाई लखेट्नुपर्छ भनेर अभिव्यक्ति दिएका थिए ।
शुक्रबार उनले यही प्रसंगमा दुःखमनाउन पनि गरे । ‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं। मैले सोचेको थिएँ कम्तीमा चितवन जिल्लाका कांग्रेस नेता कार्यकर्ताहरू खुसी भएका होलान्’ उनले भने–‘उनीहरूले प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । तपाईंहरूले सुन्नुभयो । यो त बडो विडम्बनाको कुरा भयो ।’
कांग्रेसले २०७४ को स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गर्दा भरतपुर महानगर माओवादीलाई छोडेपछि प्रचण्ड छोरी रेणु दाहाल मेयरमा विजयी भएकी थिइन् । त्यस्तै प्रतिनिधिसभाको चुनावमा प्रचण्ड उठेको चितवन ३ मा राप्रपाका विक्रम पाण्डेलाई उठाईएको थियो ।
त्यसैले प्रचण्डका लागि कांग्रेस र एमाले मात्रै होइन। यस पटक राप्रपा पनि तघारो हुन सक्ने खतरा छ। राप्रपा केन्द्रमा कमजोर भएपछि चितवनमा बलियो मानिन्छ । कांग्रेसको साथ पाएका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएको कुराले पनि त्यहाँ राप्रपा पनि अर्को शक्ति हो भन्ने बुझ्न सकिन्छ ।
चुनावी क्षेत्र परिवर्तन गरिरहने वानीले पनि प्रचण्डलाई जितका लागि समस्या ल्याउन सक्ने आँकलन गरिन्छ। २०६३ मा सशस्त्र विद्रोहबाट शान्तिपुर्ण राजनीतिमा आएका प्रचण्डले ०६४ को पहिलो संविधानसभा चुनाव रोल्पा र काठमाडौंबाट लडे। दुवै ठाउँमा जितेका प्रचण्डले काठमाडौं रोजे ।
०७० को दोस्रो संविधानसभा चुनाव काठमाडौं १० र सिरहावाट लडे। काठमाण्डौंमा हार ब्यहोरे भने सिराहामा हार्दा हार्दै जिते। ०७४ मा भने एमालेसँग गठबन्धन गरेका उनी चुनाव लड्न चितवन–३ मा पुगे ।
०७४ को चुनावमा प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याएर जितेका थिए भने राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएका थिए । समानुपातिकतर्फ एमालेले ९३ हजार ५२४ मत पाएको थियो भने कांग्रेसले ८१ हजार १०४ र माओवादीले ४२ हजार ८२१ मत पाएको थियो ।
यो अवस्था हेर्दा प्रचण्डले त्यहाँ चुनाव जित्नु असम्भव छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भयो भने उनले चुनाव जित्ने सम्भावना वन्न सक्छ।
अर्कोतर्फ छोरी रेणु दाहाल मेयर भएका कारण पनि उनलाई केही सहज हुन सक्छ भने पछिल्ला केही वर्ष उनले चितवनमा पुर्याएका योजनाले पनि भोट तान्न सहयोग पुग्ने विश्लेषकहरुको वुझाई छ।
यसैगरी, चितवनमा प्रचण्ड जत्तिको हाईट भएका नेता छैनन् । यस अर्थमा पनि उनीप्रति मतदाताको सहानुभुति हुन सक्छ भने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाएको गुन कांग्रेसले तिन सक्छ। यसरी कांग्रेससहितको सहयोग पाए प्रचण्डलाई जित निकाल्न सहज हुने वताईन्छ।