News राजनीति

चुच्चे नक्सा छापिएपछि माधव–प्रचण्डको मुटुमात्र होइन सिंगै छाति चिरियोः ओली

चुच्चे नक्सा छापिएपछि माधव–प्रचण्डको मुटुमात्र होइन सिंगै छाति चिरियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि प्रचण्ड र माधव नेपालको छाति चिरिएको आरोप लगाएका छन् ।

एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारि गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरे। 

‘जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो, कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने’ उनले भने–‘त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।’

अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइन काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।

उनले माधवकुमार नेपाल हातमा टोपी बोकेर देशभर दौडिँदैमा केही फरक नपर्ने बताए। ‘माधव नेपाल अहिले देशभर कुदेको देख्दा माया लाग्छ। किन कुदेका होलान? कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बागलुङ, हातमा टोपी लिएर कुदिरहेका छन’, ओलीले भने, ’उनी देश बनाउन होइन, एमाले बिगार्न उनी कुदिरहेका छन्।’

ओलीले कोभिड संकटबीच आफ्नो सरकारले तीन वर्षमा अनेक चमत्कारिक काम गरेकाले माधव नेपालको मन भत्भती पोलेको पनि बताए। ‘माधव नेपाल देशभरी दौडेर केही हुँदैन। एमालेको सरकारले तीन वर्षमा अचम्मै गर्यो। कोभिड लागेको छ, विकास भएको छ, धरहरा बनेको छ, एकीकृत वस्ती बनेको छ। कोभिडका बेला विकास अभियान चलाएको देखेर उनलाई औडाहा भयो’, ओलीले भने, ‘२१० वटा सडक र ३९६ वटा अस्पताल शिलान्यास गर्यौँ। त्यसैले भत्भती पोलेको छ माधव नेपाललाई। त्यही रिसले उनले एमालेका दुई चार प्वाँख काटेर हिँडेका छन्।’ 
ओलीले आफू अस्पताल जाँदा प्रचण्ड–माधवको अनुहारमा चमक देखिने र फर्केर आउँदा अँध्यारो हुने गरेको सुनाए ।

‘म अस्पताल गएँ भनेपछि नियीहरुको चेहरा उज्यालो हुन्छ । सय वाटको बत्ति बले जस्तो । अस्पतालबाट डिस्चार्ज भयो रे भनेपछि झ्याप्प बत्ति निभेजस्तो हुन्छ’ उनले भने–‘यिनीहरुको राजनीति त्यति हो । एमाले कसरी कमजोर पार्न सकिन्छ, कसरी सिध्याउन सकिन्छ त्यही हो नियहिरुको राजनीति ।’
 

चुच्चे नक्सा केपी शर्मा ओली

विशेष