News

सरसफाईमा ध्यान नदिएको विरोधमा वडाध्यक्षले नै फ्याँके मेयरको घर अगाडि फोहोर

सरसफाईमा ध्यान नदिएको विरोधमा वडाध्यक्षले नै फ्याँके मेयरको घर अगाडि फोहोर

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निवास अगाडि वडाध्यक्षले नै फोहोर थुपारेर विरोध गरेका छन् । तीनवटा वडाका वडाध्यक्षले मेयरको निवास अगाडि फोहोर फ्याँकेर विरोध जनाएका हुन् ।

वडा नं ३ का अध्यक्ष जानकी रमण साह, वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नं ७ का अध्यक्ष दीपेन्द्र साहले आइतबार साहको निवास अगाडि नै फोहोर फ्याँके। केही दिनदेखि नै सहरमा थुप्रिरहेको फोहोर व्यवस्थापन नहुँदा स्थानीयले गुनासो गर्न थालेपछि उनीहरुले विरोध गर्न यो उपाय खोजेका हुन ।

ट्याक्टरमा फोहोर लिएर गएका उनीहरुले मेयरको निवास कलवार कुटी नजिकै लगेर फ्याँकिदिएका हुन् । जनकपुरमा तिहारका लागि घर र पसल सरसफाइ गरेपछि निस्किएको फोहोर केही दिनदेखि नै सडकमा असरल्ल हुँदा सहर नै दुर्गन्धित बनेको थियो । समयमै फोहोर व्यवस्थापन नहुँदा जनकपुरका हरेक टोल र चोकमा यतिबेला फोहोरको डंगुर छ।

वडाध्यक्षहरूले फोहोर व्यवस्थापनका लागि ट्याक्टर र सफाइकर्मी माग गरे पनि मेयरले उपलब्ध नगराउँदा उनीहरू थप आक्रोशित बनेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत विनोद खड्काले वडाअध्यक्षहरूलाई भेट गरी अबको केही घण्टामै उपमहानगरले सहरमा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । 
 

विशेष