News राजनीति

पूर्वराष्ट्रपति यादवद्वारा प्रधानमन्त्रीको आलोचना

पूर्वराष्ट्रपति यादवद्वारा प्रधानमन्त्रीको आलोचना

पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा वढेको विवाद समाधान नहुँदै विदेश भ्रमणमा हिडेर प्रधानमन्त्री शेरवहादुर देउवाले देशकै वेईजत गरेको आरोप लगाएका छन् ।

‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले प्रधानमन्त्री देउवाले गलत गरेको वताए । 

न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा गएर शिर ठाडो पार्न नसक्ने बताए । यादवले भने –‘आज हाम्रो सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । तर आज बेलायतको सामुन्ने संसारको सामुन्ने न्यायालयको यो अवस्था छ । के कसरी हामीले हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं ?’

सर्वोच्च अदालतका सबै न्यायाधीश, संविधानविद् कानुनविद र न्यायक्षेत्रका वुद्धिजीवि एकातिर हुँदा पनि प्रधानन्यायाधीशले छोड्दिन भन्नुको पछाडि कसको तागत छ भनी उनले प्रश्न गरे । 

न्यायपालिकामा सरकारले हस्तक्षेप गर्न नमिल्ने भए पनि न्यायालयमा देखिएको समस्या समाधान गर्न ट्रयाक टु डिप्लोमेसी अपनाउन सक्ने पूर्वराष्ट्रपति यादवको भनाई छ। 

प्रधानन्यायाधीशले सरकार र संवैधानिक निकायमा हिस्सा खोज्नु नेपालमा अहिलेसम्म नभएको घटना भएको उनले बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।
 

विशेष