News राजनीति

राप्रपाका अध्यक्ष लोहनीको दावी– जनताको हावाहुरीले राजसंस्था फर्काउँछ

राप्रपाका अध्यक्ष लोहनीको दावी– जनताको हावाहुरीले राजसंस्था फर्काउँछ

राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालीहरूको एकताको लागि मुलुकमा राजसंस्था आवश्यक रहेको वताएका छन् । 

राप्रपाले नैतिकरूपमा राजसंस्थाको उपस्थिति नेपाल राष्ट्रको हितमा हुन्छ भन्ने ठहर गरेको वताएका उनले नेपालमा धार्मिक राज्यको माग नगरेको वताए । उनले भने–‘तर, नेपालको पहिचान एउटा हिन्दू र बुद्ध धर्मको मिश्रण हो । त्यो पहिचानलाई हामीले छोड्नु हुँदैन ।’

धर्म निरपेक्षता नेपालमा विदेशीहरूले लादेको वताउँदै उनले संसारमा धर्मनिरपेक्ष राष्ट्र भन्ने नै कहीँ नभएको दावी गरे । आफूलाई धर्मनिरपेक्ष भन्ने राष्ट्रहरू मिसन पठाएर, पैसा पठाएर धर्म परिवर्तन गर्न लागिरहेको उनको दावी छ। ‘यस्तालाई कसरी धर्म निरपेक्षता भन्नु ? यी कोही धर्म निरपेक्ष होइनन् । यी सबै आफ्नो धर्मसापेक्ष हुन्’– उनले भने।

राप्रपाले बुद्ध र हिन्दू धर्मको संगमस्थल नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्रको रूपमा राख्नु पर्ने माग अघि सारेको अध्यक्ष लोहनीले वताएका छन् । 

जनताले नै बर्हिगमन गराएको राजसंस्थालाई फेरि जनताले स्वीकार्ने पनि उनको दावी छ। कुनै पनि संस्थाको आवश्यकता समाजको समुन्नति र समाजको रक्षाको लागि आवश्यक छ÷छैन ? भन्ने कुराले निर्धारण गर्ने वताएका उनले भारत, चिन जस्तो ठूला देशको बीचमा रहेको नेपालको राजसंस्थाले एउटा विशिष्टता देखाउँने वताए ।

मुलुकमा अहिले स्थापित राष्ट्रपतिको स्थानमा राजसंस्था राख्नुपर्ने उनको तर्क छ। ‘राष्ट्रपति एउटा दलको पनि, दलभित्र पनि एउटा गुटको जस्तो हुनुभयो । उहाँको अभिव्यक्तिले त्यहीं देखायो । त्यसले संरक्षण नै दिन सकेन । त्यसकारण राजसंस्था नैतिक शक्तिको रूपमा नेपालीहरूले मान्छन्’ उनी भन्छन्–‘यो जनताको हावाहुरीले लिएर आउँछ । त्यस्तो सम्भावना पनि छ । चार पाँच महिनाअघि देशभर यस्तो लहर पनि देखिएका थियो । हामी त्यो लहर फेरि ल्याउने प्रयास पनि गर्छाै । संसद्को आवाजबाट पनि आउन सक्छ । दुईमध्ये के हुन्छ, त्यो परिस्थितिले निर्धारण गर्छ ।’

प्रकाशचन्द्र लोहनी राजसंस्था

विशेष