News अपराध सुरक्षा

महिलामाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई गाउँपालिका अध्यक्षको संरक्षण

महिलामाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई गाउँपालिका अध्यक्षको संरक्षण

भोजपुरको अरुण गाउँपालिका–६ पाल्पा सुनार गाउँकी सावित्रा बराइलीमाथि कुटपिट गर्ने कांग्रेस कार्यकर्तालाई संरक्षण गर्न गाउँपालिका अध्यक्ष नै सकृय भएका छन्।

नेपाली काङ्ग्रेसका पूर्व गाविस सभापति रहेका स्थानीय सोमकुमार राईले सावित्रालाई असोज १४ गते कुटपिट गरेका थिए । घटनाको अघिल्लो दिन राईकी बहिनीसँग पनि सावित्राको झगडा परेको थियो । 

पसलमा एक्लै बसिरहेका बेला राईले उनीमाथि कुटपिट गरेका थिए । सावित्राको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। सावित्राको संवेदनशील अङ्गमासमेत राईले हातपात गरेको उनका पति टंक वराईलीले आरोप लगाएका छन् । राईले सावित्रालाई योजनाबद्ध तरिकाले कुटपिट गरेको उनी दाबी गर्छन् । 

बराइलीले कुटपिट गर्ने राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर, राई काङ्ग्रेसका स्थानीय नेता भएकाले उनलाई बचाउन राजनीतिक दल र जनप्रतिनिधि लागेको उनको आरोप छ । गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की र सोही गाउँपालिका वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र दाहाल कुटपिट गर्ने राईलाई बचाउन लागिपरेको उनको दाबी छ ।

गाउँपालिका अध्यक्ष कार्की र वडाध्यक्ष दाहाल राईलाई छुटाउन इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र भोजपुरसम्म पुगेको उनको दाबी छ । तर, गाउँपालिका प्रमुख कार्की भने आफूले संरक्षण नगरेको दाबी गर्छन् । उनले दुवै पक्षलाई सहजीकरण गरी कानूनलाई मान्न र झै–झगडा नगर्न आफूले भनेको बताए । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राजकुमार राईले पीडितका आफन्तले जाहेरी दिएको र सोहीअनुसार मुद्दा दर्ता भई अभियुक्तलाई म्याद थप गरी प्रक्रिया अगाडि बढेको बताए ।
 

विशेष