कैदी सरुवामा पनि कांग्रेसको चलखेल, ‘डन’ अभिषेक गिरीलाई मोरङ्ग लाने कसरत

मोरङ्ग कारागारमा रहँदा जेलवाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा ०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएका विराटनगरका ‘डन’ अभिषेक गिरीलाई पुनः मोरङ्गमा ल्याउन कांग्रेसका नेताहरुले चलखेल सुरु गरेका छन् ।
मोरङ्ग कारागारमा कैदी–वन्दीका आफन्तले सुरक्षाको माग गर्दै आन्दोलन थालेपछि गिरीको सरुवा र कांग्रेस नेताहरको चलेखेल सार्वजनिक भएको हो । अपहरण आरोपमा पक्राउ गरेर जेल जिवन विताईरहेका गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दी र तिनका आफन्तले मंगलवार प्रदर्शन गरेका छन्। गिरीलाई विराटनगर ल्याउनु हुँदैन भन्दै सयौंको संख्यामा कारागार अगाडि कैदीबन्दीका आफन्त धर्नामा बसेका छन्।
गिरीलाई मोरङ कारागार ल्याउनकै लागि कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई प्रहरीले स्कर्टिङ गरेर सुनसरीको झुम्का कारागार पुर्याएको स्रोतले जनाएको छ । झुम्का कारागार सरुवा भएका राई जान नमानेपछि प्रशासनले उनलाई सोमबार साँझ स्कर्टिङ गरेर कारागार पुर्याएको हो।
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राई मोरङ कारागारमा तीन वर्षदेखि चौकीदारको रूपमा कार्यरत थिए। उनको स्थानमा गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरुप उनको सरुवा गरिएको स्रोतको भनाइ छ।
डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो। तर, सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो, त्यहीँ ल्याउने निर्णयको विरोध भएपछि अहिले स्थगित गरिएको छ।
कैदीबन्दी मोरङ्ग कारागारमा अपहरण आरोप