News

कोशी कोरिडोर विद्युत प्रसारणलाइनको पहिलो प्याकेज प्राधिकरणलाई हस्तान्तरण 

कोशी कोरिडोर विद्युत प्रसारणलाइनको पहिलो प्याकेज प्राधिकरणलाई हस्तान्तरण 

२२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को एउटा प्याकेज निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।

धनकुटाको हिलेमा वुधवार एक कार्यक्रमको आयोजना गरी प्रसारण लाई हस्तान्तरण गरिएको हो । १०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल नेरु १० दशमलव ४ अर्ब (८६ दशमलव ८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको हो ।

भारतले एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग मार्फत यो प्रसारण लाइन निर्माण भएकोहो । भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४ दशमलव ५ अर्ब (३७ दशमलव ३ मिलियन अमेरिकी डलर) मा यस परियोजनाको पहिलो प्याकेजको ठेक्का लिएको थियो । उक्त प्याकेज निर्माण सम्पन्न भएको छ।

बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि सिङ्गो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २ हजार मेगावाट विजुलीको सहज वितरणमा सहयोग पुग्ने जनाईएको छ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई सो परियोजना हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कोशी कोरिडोरका अतिरिक्त भारतले १३२ केभी क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । 
 

कोशी कोरिडोर

विशेष