News अपराध सुरक्षा

सहकारीको पैसामा इच्छाराजको लुटः घरजग्गामा लगानी, वचतकर्ताको रकम ढुस

सहकारीको पैसामा इच्छाराजको लुटः घरजग्गामा लगानी, वचतकर्ताको रकम ढुस

एमालेका पूर्वसांसद एवम् सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान भईरहेको छ। सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत आफनो लगानीका कम्पनी मार्फत आफुखुशी उपयोग गरेर ठगी गरेको घटनामा तामाङ प्रमुख योजनाकार रहेको उजुरी परेपछि उनी पक्राउ परेका हुन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उनी विरुद्ध उजुरी परेको थियो । पक्राउ परेपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत छानबिन चलिरहेको छ ।

सिभिल ग्रुपका समेत अध्यक्ष रहेका इच्छाराजको देखिने व्यवसाय भनेको हाउजिङ हो। उनले सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिको नाममा घर–जग्गा कारोबार गर्दै आएका थिए। घरजग्गा कारोवारमा उनको अर्को आयश्रोत देखिएको छैन। लगानीको मुख्य स्रोत भनेको सहकारीको वचत नै हो।

बढी ब्याजको प्रलोभनमा पारेर सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीमा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाएर वचतको ९० प्रतिशतसम्म उनले आफ्नो लगानीका कम्पनीमा प्रयोग गरेको देखिन्छ।

रेकर्ड अनुसार तामाङ्गको समुहले सहकारीको वचतमध्ये ७ अर्ब बढी निक्षेप दुरुपयोग गरेको देखिन्छ। तर, हालसम्म जाहेरी भने करिब ७० करोडको परेको छ।

तामाङले सहकारीबाट अनधिकृत रुपमा ऋण लिएर अन्धाधुन्ध घरजग्गामा लगानी गरे। सहकारीको आर्थिक वर्ष ०७४/७५ को लेखापरीक्षण प्रतिवेदनमा सहकारीबाट आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको थियो। त्यसमा तामाङको रियल स्टेट व्यवसायमा मात्र ९० प्रतिशत कर्जा लगानी भएको थियो।

सहकारीका वचतकर्ताको रकम तामाङले सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिमा लगानी भएको थियो। घर–जग्गा कारोबारमा मन्दी आएसँगै सहकारीको रकम चलाएर फाइदा उठाउने तामाङको योजना असफल भयो।

विभिन्न कारणले घर–जग्गा कारोबार ओरालो लागेपछि उनले अनाधिकृत रुपमा लिएको ऋणको सावाँ–ब्याज फिर्ता गर्न सकेनन् । बैंकको ऋण पनि तिर्न समस्या भएपछि तामाङले सुन्धारामा बनाइरहेको सिभिल होम्स अपार्टमेन्ट बिक्री गरेका थिए। 

सिभिल बैंकमा रहेको श्रीमतीको संस्थापक सेयर बिक्रीका लागि कागजी छोडपत्र गरेर सिभिल बैङ्कमा रहेको १७ करोड ५३ लाखको संस्थापक सेयर बिक्री गरेका थिए। उता सहकारीलाई रकम उठाउन पनि समस्या भएको थियो। 

बढी ब्याज पाउने लोभमा रकम जम्मा गरेका वचतकर्ताहरुले सहकारी मार्फत रकम डुवेको र आफुहरु ठगिएको चाल पाएपछि आफ्नो रकम निकाल्न सहकारीमा धाउन थाले । त्यसपछि तामाङले सहकारीको अध्यक्ष आफन्त केशवलाल श्रेष्ठलाई वनाए । तामाङ र सिभिल सहकारीका अध्यक्ष श्रेष्ठबीच मामा–ससुरा र भाञ्जा–ज्वाइँको नाता छ ।

त्यसपछि तामाङले सरकारी निकायबाट हुनसक्ने कारबाहीबाट जोगिन राजनीतिक संरक्षण खोजे। जस अन्तर्गत उनी नेकपा एमालेबाट समानुपातिक सांसद भए। सांसद भएर कानुन बनाउने ठाउँमा पुगेपछि उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन आफू अनुकुल बनाउन चलखेल गरेका थिए।

यसैवेला सहकारीहरुमा समस्या देखिएपछि सरकारले २०७१ मा पूर्वन्यायाशीश गौरीबहादुर कार्कीको नेतृत्वमा सहकारी जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको प्रतिवेदन हेर्ने हो भने घर–जग्गा कारोबारीहरुले सहकारीको आवरणमा लुट मच्याएको देखिन्छ। आयोगमा तामाङविरुद्ध भने उजुरी परेको थिएन। जे जति सहकारीविरुद्ध उजुरी परे त्यसमा रहेको वचतकर्ताको रकम संकटमा पर्नुको मुख्य कारण सञ्चालकहरुले वचतकर्ताको रकम ब्यक्तिगत फाइदाका लागि अनधिकृत रुपमा घर–जग्गामा लगानी गर्नु नै देखिएको थियो।

आयोगमा १२ हजार ९ सय ६२ वटा उजुरी परेको थियो। १ सय ६२ वटा सहकारी विरुद्ध परेको उजुरीमा सात अर्ब ६० करोड ७९ लाख रुपैयाँ खुलेको थियो। ब्याज समेत जोड्दा ठगीएको रकम दश अर्ब ८७ लाख खुलेको थियो। उजुरीको प्रकृति हेर्दा अधिकांशको घर–जग्गामा लगानीका कारण सहकारी समस्याग्रस्त भएको देखिएको थियो।

यो सवै प्रकरणपछि तामाङ विरुद्ध वचतकर्ताहरुले राष्ट्रिय सहकारी बोर्ड लगायतका निकायमा उजुरी दिए पनि कारबाही हुन सकेको थिएन। सहकारीको वचतकर्ताको रकम हिनामिना गरेको गम्भीर आरोप लाग्दा समेत उनी सिभिल बैँकको अध्यक्ष पदमा कायमै थिए।

यसैक्रममा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित उनको समूहका १२ जनालाई  पक्राउ गरेर ठगी मुद्धामा अनुसन्धानका लागि हिरासतमा राखेको छ। 

स्रोतका अनुसार तामाङकी पत्नीको नाममा रहेको १२ करोड रुपैयाँको जग्गा स्टाण्डर्ड चार्टर्ड बैंकमा भेटिएको छ, जुन रोक्का भइसकेको छ । इच्छाराजकी पत्नी सरकारी सेवामा इञ्जिनियर छिन् । सम्पत्ति शुद्धीकरण विभागले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । उनीमाथि करिब एक अर्ब रुपैयाँ स्रोत नखुलेको आर्जन देखिन्छ । इच्छाराजको परिवारको नाममा रहेको करिब १७ रोपनी जग्गा अहिले रोक्का छ, जुन सिभिल सहकारीको रकमबाट खरीद भएको विभागसम्बद्ध स्रोतको दाबी छ ।

तामाङले विवादकै क्रममा पनि सहकारीको ऋणबाटै स्थापित सिभिल होम्स समेत बेचेर लाभ लिन थालेका थिए। यसपछि अदालतमा समेत मुद्दा परेको थियो । तर उच्च अदालत पाटनबाट इच्छाराजकै अनुकूल आदेश आएपछि बचतकर्ताको रकम जोखिममा प¥यो, इच्छाराजले ढुक्कले सिभिल होम्स बेचे र थप सम्पत्ति हात पारे ।

तर पूर्ण सुनुवाइका क्रममा उच्च अदालत पाटनले धितो राखेको रकम चुक्ता गरेमा धितो फुकुवा हुनुपर्ने भनी विवादास्पद व्याख्या गरिदियो । तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले ०७६ असार २ गते सिभिल होम्स प्रालिले ऋण लिएबापत धितो राखेको रकम चुक्ता गरेमा धितो राखिएको सम्पत्ति फुकुवा गर्नुपर्ने कानूनी दायित्व ऋण प्रवाह गर्ने संस्थाको हुने भनी आदेश दिएको थियो ।

त्यही आदेशको आवरणमा सिभिल होम्सले ऋण लिँदा रकम साढे १९ करोड रुपैयाँ बुझाएर धितो फुकुवा ग¥यो । अनि सिभिलका सञ्चालकहरुले धितो फुकुवा भएको सम्पत्ति सुन्धाराको भवन र जग्गा व्यवसायी अजय सुमार्गीलाई बेचे । त्यतिबेला सिभिल होम्सले सहकारीमा तिर्नुपर्ने ऋण आठ अर्ब रुपैयाँ पुगेको थियो । आठ अर्ब ऋण तिर्नुपर्ने कम्पनीले अदालतबाट आदेश भएपछि करिब साढे १९ करोड ऋण तिरेर धितो फुकाएको थियो । र, त्यतिबेलाको भारी ऋणका कारण अहिले सहकारी संकटमा परेको सीआईबीका एक प्रहरी अधिकृतले बताए ।

यो पनि

सिभिलका अध्यक्षसहित एक दर्जन पक्राउ, यस्तो छ गम्भिर आरोप

इच्छाराज तामाङ ठगी मुद्दा सिभिल सहकारी

विशेष