News

लुम्विनीनमा मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेस र माओवादीले नाम टुंग्याए

लुम्विनीनमा मन्त्रिपरिषद विस्तार हुँदै, कांग्रेस र माओवादीले नाम टुंग्याए

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी भएको छ। कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागेसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । 

गठबन्धन दलभित्रै मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा झण्डै दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो ।


१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।

गठबन्धनका मुख्य दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने दुई–दुई जनाको नाम टुंगो लगाएका छन् । चार वटा मन्त्रालय पाएको नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका वसिउद्दिन खाँ मन्त्री बन्ने निश्चित भइसकेको पार्टीका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । वन वाता

वन तथा भूसंरक्षण मन्त्रीमा हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा खाँलाई पठाउने कांग्रेसले निर्णय गरेको छ । यसअघि दाङका डिल्लीबहादुर चौधरी कांग्रेसको तर्फबाट पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको छ । यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।
 माओवादीले दाङकी विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने तयारी गरेको छ । एक जना मात्र सांसद रहेको नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने पक्का भएको छ । 

लुम्बिनी प्रदेश मन्त्रिपरिषद विस्तार कुलप्रसाद केसी

विशेष