News राजनीति

पूर्वमन्त्री झाले प्रचण्डलाई छोडे, अव माधव नेपालको पछाडि

पूर्वमन्त्री झाले प्रचण्डलाई छोडे, अव माधव नेपालको पछाडि

केपी शर्मा ओली प्रवृत्ति विरुद्ध लडने भन्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री रामचन्द्र झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारीमा लागेका छन् ।

पहिलो संविधानसभा विघटनपछि एमालेबाट माओवादीमा प्रवेश गरेका झालाई मंसिर ७ गते धनुषाको तिनकोरिया चोकमा औपचारिक कार्यक्रम गरेर माधवकुमार नेपालले पार्टीमा भित्र्याउने कार्यक्रम छ । 

माओवादीका केन्द्रीय सदस्य झाले नेकपा (एस) मा प्रवेश गर्न माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक बिदासमेत लिएको जनाईएको छ। अहिलेको लडाइँ केपी शर्मा ओलीको प्रवृत्ति विरुद्धमा हो भन्दै उनी नेकपा एस प्रवेश गर्न लागेका हुन ।

ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका माधव नेपालसँग गएर मात्रै हुने उनको तर्क छ। प्रदेश २ मा प्रभाव भएका झालाई एकीकृत समाजवादीमा उपाध्यक्ष बनाउने तयारी छ । 

झा नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवशनमा वैकल्पिक केन्द्रीय र जनकपुर इन्चार्ज भएका थिए भने जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । आठौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भएका थिए । 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा झा उक्त पार्टीमा लागेर पछि फेरि माओवादीमा फर्केका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उनी स्थानीय विकासमन्त्री बनेका थिए । 
 

रामचन्द्र झा

विशेष