News

पद्मश्री पुरस्कार पाउनेको खालीखुट्टाको चर्चा

पुरस्कार थाप्न खालीखुट्टा राष्ट्रपति भवन पुगे यी दुई भारतीय नागरिक

पद्मश्री पुरस्कार पाउनेको खालीखुट्टाको चर्चा

नेपालको छिमेकी राष्ट्र भारतमा पद्मश्री सम्मान पाउने दुई सर्वसाधारण नागरिकको विषयमा यतिवेला सामाजिक सञ्जालमा ब्यापक चर्चा छ। उनीहरु खाली खुट्टा नै सम्मान थाप्न भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष पुगेका थिए ।

नेपालमा सरकारले वितरण गर्ने मानपद्वी र सम्मानमा हावी भएको नातावद र कृपावादका कारण पनि ती दुई नागरिक अहिले चर्चाका पात्र भएका हुन। पद्मश्री पुरस्कार सामान्य तर विशिष्ठ योगदान दिएका ब्यक्तिलाई मात्र दिइने सम्मान हो। यो पुरस्कारलाई भारतमा नागरिकलाई दिइने सबैभन्दा ठूलो पुरस्कार मानिन्छ। 

यस वर्ष पद्मश्री पुरस्कार पाएका मध्ये तुलसी गौडा र हरेकाला हजाब्बा चर्चामा छन् । तुलसी गौडा भारतको कर्नाटक राज्यमा बस्दै आएकी छिन्। उनी पुरस्कार लिन परम्परागत सादा पोसाकमा खाली खुट्टा नै गएकी थिइन्। 

७२ वर्षीया गौडालाई वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएकोमा कदर गर्दै पद्मश्री पुरस्कार दिइएको हो। उनलाई मानिसहरुले ‘जंगलकी इन्साइक्लोपेडिया’ भनेर चिन्छन्। 

कर्नाटकको हालाक्की आदिवासी समुदायकी गौडा ६ दशकदेखि वातावरण संरक्षणको लागि काम गर्दै आएकी थिइन्। सानै हुँदा वावुको मृत्यु भएपछि ११ वर्षमै उनको विवाह भएको थियो । केहि समयपछि नै उनका पतिको पनि मृत्यु भयो ।

शोक र एक्लोपन हटाउन उनले विरुवा रोप्ने र संरक्षण गर्ने काम सुरु गरिन । उनलाई जंगलका धेरै रुखबिरुवा र त्यसको प्रजातिबारे ज्ञान छ। ६ दशकको अवधिमा उनले ३० हजारभन्दा धेरै रुख रोपिसकेकी छिन्। यही काम गरे वापत उनले पुरस्कार पाएकी हुन ।

यसैगरी, कर्नाटक राज्यमा बसोबास गर्दै आएका हरेकाला हजाब्बालाई सन् २००० मा आफ्नो एक्लो प्रयासमा बेंग्लोर नजिकै विद्यालय बनाएको योगदान स्वरुप पुरस्कार प्रदान गरिएको हो ।

उनी पनि सोमबार राष्ट्रपति भवनमा खाली खुट्टा नै पुरस्कार लिन पुगेका थिए। उनले गाउँका बालबालिकाको लागि एउटा प्राथमिक र माध्यमिक विद्यालय बनाएका हुन्। उनले बनाएको विद्यालयको नाम कन्नड जिल्ला पञ्चायत हाइ स्कुल हो। मानिसहरुले उनको महान सोच, कडा मिहिनेत र संघर्षको तारिफ गर्ने गरेका छन्। 

फलफूलको सानोतिनो व्यापारबाट उनले आफ्नो गुजारा गर्दै र केही रकम बचाएर विद्यालय खोलेका हुन्। सन् २००० सम्म हजाब्बाको गाउँमा कुनै विद्यालय थिएन र उनको दैनिक आम्दानी पनि १५० भारु मात्र थियो। हजाब्बालाई कुनै समय एक विदेशीले अंग्रेजीमा फलफूलको नाम सोधे। तर, विद्यालय नगएका उनले त्यसको जवाफ दिन त के प्रश्न नै वुझेनन् । त्यसपछि उनले गाउँमा विद्यालय खोल्ने योजना वनाएको वताईन्छ। 

पद्मश्री

विशेष