News

कर्णाली प्रदेशः महेन्द्र वहादुरले राजिनामा दिने, जीवनबहादुर नयाँ मुख्यमन्त्री

कर्णाली प्रदेशः महेन्द्र वहादुरले राजिनामा दिने, जीवनबहादुर नयाँ मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिने तयारी गरेका छन् । उनले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । 

शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकलगत्तै उनले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले बताए । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेको उनले वताए ।

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ । ‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ । क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ, ढुक्क हुनुहोस,’ एक नेताले भने ।

यसअघि माओवादी केन्द्रले भने पार्टीको केन्द्रको निर्देशन पर्खिएर केन्द्रले सहमति दिएको अवस्थामा मात्र राजीनामा दिने बताउँदै आएको थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै सत्तारुढ गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि मुख्यमन्त्री शाही राजीनामा दिन तयार भएका हुन्। 

यता नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि सोमबार नै मुख्यमन्त्रीलाई नेतृत्व हस्तान्तरण गर्नेगरी छलफल भइरहेको बताए। ‘आज नै मुख्यमन्त्रीले नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा हाम्रो पहल छ। हाम्रो पहल सार्थक हुने दिशामा गएको छ,’ शाहीले भने।
 

कर्णाली प्रदेश महेन्द्रबहादुर शाही जीवनबहादुर शाही

विशेष