News

बझाङमा निकोस चर्चद्धारा बाढी पिडितलाई राहत वितरण 

बझाङमा निकोस चर्चद्धारा बाढी पिडितलाई राहत वितरण 

बझाङको सदरमुकाम चैनपुरमा रहेको निकोस चर्चले बाढी पिडितलाई करिब १ लाख ६० हजार बराबरको राहत सामाग्री वितरण गरेको छ । गत आसोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको वर्षाका कारण आएको बाढी पहिरोले घरबार विहिन भएका नागरिकहरुलाई चर्चको तर्फबाट पास्टर मदन बहादुर सार्कीले राहत सामाग्रि वितरण गरेकाछन् । 

चर्चको तर्फबाट जिल्लाको खप्तड छान्ना गाउँपालिका, मस्टा गाउँपालिका तथा जयपृथ्वी नगरपालिकाका बाढी पहिरो पिडितलाई करिब एक लाख ६० हजार बराबरको राहत वितरण गरेको पास्टर मदनले बताए । 'शुक्रबार मष्टा गाउपालिका वडानं १ डुंग्री गाउँमा बाढीका कारण घरबार विहिन बनेका १० परिवारलाई राहत वितरण गरेकाछौँ । स्थानिय युवा नेता रामचन्द्र रोकायाको उपस्थितिमा पुर्ण क्षती भएका परिवारलाई राहत वितरण गरेका हौँ ।' उनले भने । 

चर्चले मल्लेसी पहिरो, कोरोनाको प्रकोप तथा हालसालैको बाढी पहिरोको प्रकोपले पिडित नागरिकलाई सहयोग गरेको जानकारी दिएको छ । यो पटकको बाढी पहिरोले क्षती पुगेका बालबालिकालाई न्यानो कपडा, घरबार विहिन भएका नागरिकलाई कम्बल, खाद्यान्न सामाग्रि तथा केही नगद सहयोग गरेको पास्टर मदनले जानकारी दिए । क्षतीको विवरण हेरेर स्थानिय सरकार तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रकोप पिडितलाई चर्चले सहयोग गर्दै आएको पास्टर मदनको भनाइ छ । 

यता सहयोगको नाममा चर्चले बझागंमा धर्म प्रचार प्रसार गरेको भन्दै हिन्दुवादीहरुले आपत्ति जनाई रहेकाछन् । कहिले कोरोना पिडितको नाममा कहिले बाढी पहिरो पिडितको नाममा सोझा जनतालाई राहत वितरणको बहानामा धर्म प्रचार गरेको हिन्दुवादीको आरोप छ ।

अप्ठ्यारोमा सहयोग गर्नु राम्रो काम भएपनि क्रिश्चियन धर्म प्रचार गर्नु धार्मिक स्वतन्त्रताको दुरुपयोग भएको मानसखण्ड पुर्नःजागरण मञ्चका अभियानता विशाल थापा बताउँछन् । उनि भन्छन्, 'बझाङका विभिन्न ठाउँमा अहिले चर्चहरु धमाधम खुलिरहेकाछन् । धर्मनिरपेक्ष मुलुककमा धार्मिक अभ्यास गर्न स्वतन्त्रता भएपनि प्रचारप्रसार नै गरिनु ठिक होइन । बाढी पहिरो पिडितलाई सहयोग गर्नु राम्रो हो । सहयोग गर्नेपनि सरकारी संयन्त्र छ । तर, चर्चका साथिहरुले आफै गाउँगाउँमा गएर राहत वितरण गरेको भेटियो । यस्ता गतिविधि उपयुक्त होइनन् ।'

तपाईले सहयोगको नाममा क्रिश्चियन धर्म प्रचार गरेको हो? भन्ने प्रश्नमा पास्ट मदनले आफुहरुले मानविय नाताका आधारमा सहयोग गरेको बताएकाछन् । उनि भन्छन्, 'धर्मप्रचार कहिल्यै गरिएन र गरिदैन । मानव सेवा गर्न मिल्छ । कसैलाई सहयोग गर्दैमा धर्म प्रचार हुन्छ भने त्यस्ता कुविचार भएकालाई केही भन्नु छैन ।'

६ करोडको कोष भएको सुर्मादेवि मन्दिरले बाढी पहिरो पिडितलाई किन सहयोग गरेन? पास्टर मदनले प्रश्न गरेकाछन् । उनको प्रतिक्रिया छ, 'चैनपुरमा अवस्थित सुर्मादेवी मन्दिरमा ६ करोडभन्दाबढी पैसा छ भन्ने हामी सुन्छौँ तर यत्रो लकडाउनले मान्छे थला पर्दा एकजनालाई एक गास खुवाएको तपाईले भेट्नु भयो? हामी एक सुक्को नहुनेले चर्चहरुबाट भेटि उठाएर सहयोग गर्याै तर कहिल्यै धर्म प्रचार गरेनौ । धर्म प्रचार पैँसावालाहरुले गर्नु पर्ने थियो नि । हामीले सहयोग गर्दा धर्म प्रचार हुन्छ?'

चर्चद्धारा राहत

विशेष