News

नेपाल–भारतका जनताविचको अटुट सम्बन्धलाई सुदृढ गर्न मोटरसाईकल र्याली

नेपाल–भारतका जनताविचको अटुट सम्बन्धलाई सुदृढ गर्न मोटरसाईकल र्याली

नेपालको राजधानी काठमाण्डौस्थित पशुपतिनाथबाट काँशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली सुरु भएको छ। र्यालीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा शुभारम्भ गरेका छन् । र्यालीमा नेपाल र भारतबाट करिव ५० वटा मोटरसाईकल सहभागि छन् । 

भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उदेश्यले र्यालीको आयोजना गरिएको हो । दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाँझ जनचेतना फैलाउनु पनि र्यालीको उदेश्य रहेको जनाईएको छ।

र्याली शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताए। उनले मोटरसाइकल र्यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिए।

भारतिय राजदुत क्वात्राले काठमाडौं र काँशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काँशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताए।

र्यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् । 

महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै र्याली अघि बढ्नेछ ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा र्यालीको आयोजना गरिएको हो ।


 

विशेष