News

दोलखा–काठमाण्डौं चल्ने यात्रु बसमा किन टाँसिदैछ मन्त्रीको फोटो ?

दोलखा–काठमाण्डौं चल्ने यात्रु बसमा किन टाँसिदैछ मन्त्रीको फोटो ?

सामान्यतया यात्रुवसमा देशमा उच्च योगदान पुर्याएका ब्यक्ति र भगवानका तस्विर राख्ने गरिन्छ। यात्रु बसमा तस्विर राख्नुको अर्थ त्यस्ता ब्यक्तिको योगदानको चर्चा र प्रचार गर्नु हो। तर, दोलखाका स्थानीयवासीले भने वहालवाला मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीसाधनमा टाँस्न थालेका छन् ।

दोलखालाई राजधानीसँग जोड्ने मुख्य लामोसाँघु–जिरी सडक अन्तर्गत मुडे–चरीकोट खण्ड विस्तारको काम ६ वर्षदेखि अलपत्र पारेको भन्दै विकास निर्माण प्रति उनीहरुको वेवास्तालाई पर्दाफास गर्न सवारी साधनमा फोटोसहितको ब्यानर टाँस्न थालिएको हो ।

सडक विस्तारका लागि दबाब दिन सार्वजनिक यातायातमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको ब्यानर सार्वजनिक यातायातमा टाँस्ने अभियान सुरु गरिएको हो ।

मन्त्री र सरोकारवाला कर्मचारीको फोटोसहितको ब्यानरमा ‘सरकार....मुडे चरिकोट सडक कहिले बनाउँछस् ? हाम्रो बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस् ?’ लगायतका प्रश्न सोधिएका नारा छन् । ६ वर्षदेखि बिग्रिएको सडकका कारण नागरिकले दुःख पाएकाले सांकेतिक रुपमा विरोध गरिएको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए ।

सडक विस्तार नभइन्जेल चरणवद्ध आन्दोलन गर्ने उनको चेतावनी छ। २ वर्षमा काम सक्नेगरी जिम्मा लिएको भारतीय निर्माण कम्पनी सकिल हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले सडक विस्तारको काम अलपत्र पारेको उनले वताए ।

लामोसाँघु जिरी सडक अन्तर्गत दोस्रो खण्डको मुडेदेखि चरीकोटसम्म ३० किलोमिटर सडक २०७२ सालबाट विस्तारको काम सुरु भए पनि हालसम्म सकिएको छैन। काम बीचमै रोकेर कम्पनी बेपत्ता भएको स्थानीयवासी वताउँछन् । 
 

विशेष