News

हत्या आरोपमा सजाय भोगेका बालकृष्ण ढुङ्गेल एमालेको महाधिवेशन प्रतिनिधि

हत्या आरोपमा सजाय भोगेका बालकृष्ण ढुङ्गेल एमालेको महाधिवेशन प्रतिनिधि

माओवादी जनयुद्धमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय खेपेर चर्चामा आएका तत्कालीन माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् । 

०७५ सालको गणतन्त्र दिवसका अवसरमा वाँकी कैद मिनाहा गरेर ढुङ्गेललाई जेल मुक्त गरिएको थियो । कुल सजायको ४० प्रतिशत सजाय काटेका कैदीको असल चालचलन भएमा सरकारको सिफारिसमा राष्ट्रपतिले माफी दिन सक्ने संवैधानिक व्यवस्था अनुसार ढुङ्गेल जेलमुक्त भएका थिए । 

सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। 

त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए। त्यसपछि तत्कालीन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी ओखलढुंगाबाट निर्वाचितसमेत भएका थिए।

२०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भने उनी ‘‘फरार अभियुक्त’ बने। तर राजनीतिक रूपमा भने उनी निरन्तर सक्रिय थिए।

सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै २०७४ कात्तिक ७ मा प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका थिए। 

जेलमुक्त भएपछि ढुंगेल गत वर्ष नेकपा विभाजनसँगै प्रचण्डलाई छोडेर केपी ओली पक्षमा उभिएका थिए । प्रचण्डले जनयुद्धलाई आफ्नो र परिवारको स्वार्थसिद्ध गर्ने भर्याङ बनाएको र कार्यकर्तालाई मुद्दामा फसाएर आफू प्रधानमन्त्री बनेको भन्दै ढुंगेलले विद्रोह गरे।

ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् । ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका उनले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर गएका थिए ।
 

बालकृष्ण ढुङ्गेल

विशेष