समाजवादी पत्रकारहरुद्वारा माधव नेपाल सहभागि कार्यक्रम वहिस्कार !

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठनमा विवाद देखिएको छ। विवादका कारण अध्यक्ष माधव नेपाल र प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतका नेता सहभागि रहेको भेला केही संस्थापक नेता र पत्रकारले वहिस्कार गरेका छन् ।
काठमाडौंको अर्पण पार्टी प्यालेसमा जारी समाजावादी प्रेस संगठनको भेलालाई विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन विसी, रामकुमार शाही, भवानी कार्की, तेजप्रसाद वाग्लेलगायतले बहिस्कार गरेका हुन।
सिनियर पत्रकारहरुलाई वेवास्ता गरी अन्यलाई संगठनमा स्थापित गर्न खोजिएको भन्दै संस्थापक नेता तथा सो संगठन आवद्ध क्रियाशील पत्रकारले भेला बहिस्कार गरेर बाहिरिएका छन् ।
तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एकिकृत समाजवादीमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
सुवेदी र साउद चौतारीको उपाध्यक्ष र एलन उपमहासचिव थिए । चौतारीबाट विद्रोह गरेका नेताहरुले शम्भु श्रेष्ठलाई अध्यक्ष माने पनि वरिष्ठ उपाध्यक्षमा विश्वमणि सुवेदी, दोस्रो वरियताको उपाध्यक्षमा नरेन्द्र साउद र महासचिवव रामकुमार एलनलाई प्रस्ताव गरेका थिए ।
तर, चौतारीको सचिव रहेका अमृत तिमल्सिना नेकपा एसको केन्द्रीय सदस्यको हैसियतमा मन्चमा बसेपछि उनीभन्दा सिनियरहरुलाई अपमान गरेर संगठनमा क्रियाशील नै नभएका व्यक्तिलाई अघि सारिएपछि बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।
समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ र महासचिवमा भुपराज खड्काको नाम घोषणा हुन लागेको थियो ।
माधवकुमार नेपाल नेकपा एकिकृत समाजवादी समाजवादी प्रेस संगठन