News

पार्टीलाई मृत्युशैय्यामा पुर्याएको भन्दै विवेकशील साझाका १३ नेताले दिए राजिनामा

पार्टीलाई मृत्युशैय्यामा पुर्याएको भन्दै विवेकशील साझाका १३ नेताले दिए राजिनामा

नेतृत्वले पार्टीलाई मृत्युशैय्यामा पुर्याएको भन्दै विवेकशील साझा पार्टीका १३ नेताले राजिनामा दिएका छन् । पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले राजिनामा दिएका हुन ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति जनाउँदै उनीहरुले राजिनामा दिएका हुन । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे, युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामेले राजीनामा दिएका हुन् ।

उनिहरुले ‘पद्दति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुँदैनौं’ भनेका छन् ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको मागसहित दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक ध्रवीकरण देखिएको थियो । पछि पार्टीका बहुमत केन्द्रीय सदस्यहरु अध्यक्ष मिश्रको पक्षमा देखिए ।
 

विवेकशील साझा

विशेष