News

निर्मला कुर्मी प्रकरणका मुख्य आरोपी पूर्वसभासद्लाई प्रशासनको संरक्षण

निर्मला कुर्मी प्रकरणका मुख्य आरोपी पूर्वसभासद्लाई प्रशासनको संरक्षण

बाँकेको निर्मला कुर्मी वेपत्ता प्रकरणमा मुख्य आरोपी पूर्वसभासद् बादशाह कुर्मीलाई प्रशासनले संरक्षण गरेको आरोप लागेको छ। उनलाई पक्राउ गर्न अधिकारकर्मीहरुले आज जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका छन् ।

धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् । प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मीहरुले वताए ।

सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि उनीहरुले माग गरेका छन् । छानविन समितिले पूर्वसभासद् कुर्मीमाथि पनि अनुसन्धान गर्न भने पनि प्रहरीले उनलाई चाहिँ पक्राउ गरेको छैन । 
 
जिल्ला प्रहरी कार्यालय, बाँकेले चाहिँ घटनामा संलग्न ७ जना पक्राउ परिसकेको बताउँदै बादशाहलाई समात्न कानूनी आधार नभएको बताएको छ । उनी पहिल्यै बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै प्रहरीले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ । 

गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानविन समितिले पूर्वसभासद् बादशाह कुर्मीमाथि पनि अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

समितिले गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनको आधारमा ७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा किटानी जाहेरीमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह छन् । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेका वृद्ध भएकाले हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले बताए ।

छानविन समितिको प्रतिवेदनअनुसार, निर्मला कुर्मीको परिवार हालको नेपालगञ्ज उपमहानगरपालिका–१७ मा पर्ने साबिक परस्पुर गाविस–९ मा बसेको थियो । मधुमेहबाट ग्रसित निर्मलाका श्रीमान् महलु कुर्मीको २०६२ सालमा मृत्यु भयो। त्यसपछि उनको ४ बिघा १० कट्ठा जग्गामा भू–माफियाको नजर प¥यो ।

श्रीमानको मृत्यु भएको चार वर्षपछि २०६६ को मंसिरमा १० दिनको फरकमा छोरा १८ वर्षीय राम सागर र सुरेशको पनि रहस्यमय तरिकाले मृत्यु भयो । नेपालगञ्जमा सक्रिय नेपाल मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान कुनै रोग नभएका निर्मलाका छोराहरुको पोष्टमार्टम गराउन पूर्वसभासद बादशाहले रोकेको बताउँछन् । 

उनका अनुसार, सरकारी ढड्डामा पनि निर्मला कुर्मीका छोराहरुको मृत्युबारे कुनै विवरण छैन । जग्गा हडप्न खोजिएको चर्चा लामो समय चलेपछि प्रहरीले राम सागर र सुरेशको मृत्युबारे चासो दिएपनि कुनै अभिलेख नभेटिएको बागवान बताउँछन् ।

‘छोराहरुको मृत्युपछि बाबु महलु र जेठो छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपूर्जा र नागरिकता बादशाह कुर्मीले लगेका थिए’ छानविन समितिको प्रतिवेदनको निष्कर्ष खण्डको (ख.३ र ४) मा भनिएको छ, ‘निर्मलाको घरजग्गा खानका लागि लालपूर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरका मानिसहरुले चर्को विरोध, धर्ना आदि गरेका थिए ।’

प्रशासनले पटकपटक पूर्वसभासद् कुर्मीलाई बोलाउँदा उनी उपस्थित नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘विरोध प्रदर्शनपछि निज जिल्ला प्रशासन कार्यालयमा उपस्थिति भएर कागजात दिइ माफी मागेको भन्ने बुझिएको छ’ प्रतिवेदनमा भनिएको छ । निर्मला कुर्मीले प्रशासनबाट कागजात पाएको केही दिन÷महिनामा उनी हराएको बुझिएको प्रतिवेदनमा उल्लेख छ ।

उनी बेपत्ता भएपछि खोजतलासका लागि प्रहरी लगायत कुनै निकायमा लिखित निवेदन नपरेको, मौखिक रुपमा विभिन्न माध्यमबाट अधिकारकर्मीहरुले आवाज उठाएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
 

निर्मला कुर्मी

विशेष